काठमाडौं- हिजो (शुक्रबार ) देखी हलमा लागिरहेको छक्का पञ्जा ४ मा कसरी एक मिटरब्याजी गुण्डा शक्तिमा पुग्छ, कसरी जनताको मन जित्छ र शासन गर्छ भन्ने कथा प्रस्तुत गरिएको छ। छक्का पञ्जा ४ मा वर्तमान राजनीतिक विकृति, नातावाद, राजनीतिक शक्तिको दुरुपयोग, मिडिया शक्तिको प्रयोग र दुर्बल कानूनलाई तिखो व्यङ्ग्य हानिएको छ।
कर्मचारीतन्त्र, कर्मचारीका युनियनले बिगारेको प्रणाली लगायतका गम्भीर विषयलाई फिल्ममा पस्तुत गरिएको छ। विवादित पृष्ठभूमिबाट राजनीति प्रवेश गरेको राजा सरकारी कर्मचारीलाई कार्यालयमा झापड हान्छन्। कानून अटेर गर्छन्। उनले मन्त्रीहुँदा कर्मचारी थुन्ने मात्रिका यादवको झल्को पनि दिन्छन्।
फिल्ममा कर्मचारीको ढिलासुस्ती, लापरवाही, राजनीति गन्हाएको युनियन लगायतका विषयमा प्रश्न उठाइएको छ। चर्चित राजनीतिक नायकहरूबारे सामाजिक सञ्जालमा कसैले नराम्रो टीकाटिप्पणी गर्नासाथ साइबर सेनाले गर्ने चरित्रह$त्या, नकारात्मक गाली र धम्कीका बारेमा पनि फिल्ममा स्पस्ट पारिएको छ, जुन यतिबेला वास्तविकरूपमै गम्भीर विषय हो।
मिडिया आर्थिक प्रलोभनमा नेताको पछि लागेको देखाइएको छ। फिल्ममा कलाकारको अभिनय मौलिक छ।
फिल्मको विषयवस्तु यसको सबैभन्दा अब्बल पाटो हो। कानूनभन्दा सामाजिक सञ्जालले बनाइदिएको एक व्यक्तिको शक्तिलाई मुख्य विषय बनाइएको छ। उसको मिडियाबाट बनाईएको नक्कली छवीको शक्ती देखाइएको छ।