फेरी बढ्न थाल्यो कोरोना संक्रमण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या दुई सय नाघ्यो
पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४१ जना नयाँ संक्रमित थपिएका छन् । २३३७ पीसीआर र १०२१ एन्टिजेन विधिबाट गरिएका नमूनाको परीक्षणमा पीसीआरबाट २६ र एन्टिजेनबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल ३ हजार ३ सय ५८ जनाको नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार हाल तीन जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।
काठमाडौंमा जताततै फैलियो हैजा, सावधानी नअपनाए प्रकोपको खतरा
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजा फैलिाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न १२ ठाउँमा हैजा फैलिएको बताएको हो। बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बोहोराटार, बल्खु, थानकोट र नैकापलगायतका ठाउँमा विभिन्न व्यक्तिमा हैजा पुष्टि भएको छ। हैजा खासगरी प्रदुषित पानीबाटै फैलिने भएको हुँदा पानी उमालेर र शुद्धिकरण गरेर मात्रै पीउनका लागि महाशाखाका निर्देशक डा दासले सबैलाई आह्वान गरेका छन्। यस्तै खानेकुरा खानु र छुनुअघि पनि राम्रोसँग साबुन पानीले हात धुनुपर्ने समेत चिकित्सकहरुको भनाइ छ।
प्रेम आले विदा भएपछि पर्यटन मन्त्रालयमा खुशियाली, अश्लिल बोलीले हैरान थिए कर्मचारी, आलेले आफूलाई फाईदा हुनेगरि थुप्रै निर्णय लिएको मन्त्रालयनिकट स्रोतको दाबी
नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु हेरफेर गरेको छ । यसअघि मन्त्री भएकाहरुमध्ये सबैभन्दा धेरै चर्चामा थिए–प्रेम आले । उनले ८ महिना २० दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पूनर्गठन गर्नुअघि सिंहदरबारमा हिजो (आइतबार) अपरान्ह आलेले पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा उनले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाएका थिए ।
उनले आफूलाई ९० प्रतिशत अंक दिनसम्म भ्याए । र, आफूलाई बाघको संज्ञासमेत दिएका थिए । मन्त्री बनेदेखिनै आले सधैं चर्चाको शिखरमा रहे । आफूले लिएको निर्णय र सर्वसधारणदेखि विभागीय प्रमुखसम्मलाई गालीगलौजमा उत्रिनसम्म भएका आले सुरुदेखि ने विवादित थिए । प्रायः सार्वजनिक कार्यक्रममा आफूले देश र जनताको अहित हुनेगरि एउटा पनि काम नगर्ने र गरेको पाए एक सेकेण्डपनि कुर्सीमा नबस्ने घोषणा गरेका थिए ।
तर, पर्यटन मन्त्रालयबारे जानकारहरु भने आलेले बाहिर एउटा कुरा गर्ने अनि भित्री रुपमा भने आफूलाई लाभहानी हेरेर निर्णय लिएको दाबी गर्छन् । आलेले आफूलाई फाईदा हुनेगरि थुप्रै निर्णय लिएको मन्त्रालयनिकट स्रोतको दाबी छ । हिजोबाट आले विदा भएपछि अहिले मन्त्रालयका कर्मचारी खुशी भएका छन् ।
सरकारले शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गरिने, अमेरिकालाई पठायो एसपीपीमा संलग्न नहुने पत्र
सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।
सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति सिफारिश हुने विश्वस्त स्रोतले इन्फो नेपाललाई जानकारी दिएको छ ।
नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाएको हो ।
विपक्षलाई बजेट अनैतिक लाग्दैमा राजीनामा नदिने अर्थमन्त्री शर्माको दाबी, सीसी टिभी फुटेज उपलब्ध गराउन माग गर्दै मञ्चले दियो अर्थमन्त्रालयमा निवेदन
अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन्। उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताएका छन् ।
आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नताबारे अध्ययन गर्न भन्दै उपभोक्ता अधिकारबादी संस्था उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य माग गरेको छ । २४ भदौको राति ११ बजेदेखि बिहान ६ बजेसम्म र गत १४ जेठ साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टाको क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य उपलब्ध गराइदिन मञ्चले मन्त्रालयसँग अनुरोध गरेको छ ।
मञ्चले निवेदनमार्फत विधेयक तर्जुमा गर्दा मन्त्रालय परिसर, अर्थ तथा राजश्व सचिवको कार्यकक्ष र मन्त्रीको कार्यकक्षमा भएको ओहोर दोहोरको सम्पूर्ण दृश्य उपलब्ध गराइदिन अनुरोध गरेको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम यस्तो निवेदन दिइएको पनि मञ्चले जनाएको छ ।
टिकेन शेयर बजारको वृद्धि, आज दोहोरो अंकको गिरावट, शेयर कारोबारका लागि ब्रोकरले आफ्नो छुट्टै टीएमएस प्रयोग गर्न पाउने
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
अब ब्रोकरहरूले शेयरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आफैँ विकास गरेर प्रयोग गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले ‘धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९’ संसोधन गर्दै ब्रोकरहरूलाई आफ्नै टीएमएस प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।
यो भन्दा अगाडि ब्रोकरहरूले नेप्सेले तयार गरेको टीएमएस नै प्रयोग गर्दै आएका थिए । अब भने टीएमएस सञ्चालनको लागि ब्रोकरहरूसँग तीन ओटा विकल्पहरू तयार भएका छन् ।
गठबन्धन छाड्ने नेकपा एसको संकेत, संघ र प्रदेश निर्वाचनमा सबै ठाउँमा उम्मेदवार उठाउने
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताए । नेपालको सो भनाइले आगामी निर्वाचनमा नेकपा एसले गठबन्धन छाड्ने सम्भावना देखिएको छ । सबै स्थानमा उम्मेदवार उठाउने भएपछि सो पार्टीले गठबन्धनबाट बाहिरिनुपर्छ ।
**आजको मौसम**
मौसम पूर्वानुमान महाशाखाका अनुसार असार १४ गते मंगलबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहने छ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै राति देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
फेरी बढ्न थाल्यो कोरोना संक्रमण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या दुई सय नाघ्यो
प्रेम आले विदा भएपछि पर्यटन मन्त्रालयमा खुशियाली, अश्लिल बोलीले हैरान थिए कर्मचारी, आलेले आफूलाई फाईदा हुनेगरि थुप्रै निर्णय लिएको मन्त्रालयनिकट स्रोतको दाबी
काठमाडौंमा जताततै फैलियो हैजा, सावधानी नअपनाए प्रकोपको खतरा हुनसक्ने , प्रदुषित पानीबाटै फैलिने हुँदा पानी उमालेर र शुद्धिकरण गरेर मात्रै पीउन आह्वान
सरकारले शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गरिने, अमेरिकालाई पठायो एसपीपीमा संलग्न नहुने पत्र
विपक्षलाई बजेट अनैतिक लाग्दैमा राजीनामा नदिने अर्थमन्त्री शर्माको दाबी, सीसी टिभी फुटेज उपलब्ध गराउन माग गर्दै मञ्चले दियो अर्थमन्त्रालयमा निवेदन
टिकेन शेयर बजारको वृद्धि, आज दोहोरो अंकको गिरावट, शेयर कारोबारका लागि ब्रोकरले आफ्नो छुट्टै टीएमएस प्रयोग गर्न पाउने
गठबन्धन छाड्ने नेकपा एसको संकेत, संघ र प्रदेश निर्वाचनमा सबै ठाउँमा उम्मेदवार उठाउने तयारी