हेटौँडा | नेपालमा मनसुन मौसम पूरै सक्रिय भएसँगै देशभर ठूलो वर्षा र त्यसबाट उत्पन्न विपदले जनजीवन अस्तव्यस्त बनेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा भएको छ। यसले गर्दा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।
मकवानपुरमा कहर
शुक्रबार रातिदेखि शनिवार बेलुकीसम्म मकवानपुर जिल्ला लगाएत देशभर नै व्यापक पानि पर्यो । जिल्लाका विभिन्न स्थानहरूमा पहिरो, बाढी र डुबानका घटनाहरू भए , जसले गर्दा सयौं परिवारहरू प्रभावित भएका छन् र यातायात सेवामा समेत अवरोध उत्पन्न भयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा १ सय ४१ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भए । विशेषगरी हेटौंडा-५ मा सबैभन्दा बढी असर परेको छ, जहाँ सिंचाई कुना टोलमा २० घर, लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, र सानोपोखरामा ३० घर डुबानमा परेका छन्। त्यसैगरी, हेटौंडा-७ का विभिन्न टोलहरूमा पनि ठूलो संख्यामा घरहरू प्रभावित भएका छन्।
यातायात क्षेत्र पनि प्रभावित बन्यो । दिनभर जिल्लाका विभिन्न सडक खण्डहरूमा पहिरो र बाढीका कारण अवरोध सिर्जना भएको थियो। इन्द्रसरोवर गाउँपालिका-५ को महालक्ष्मी खोला नजिक, भिमफेदी गाउँपालिका-८ को माहादेवटार र प्रतापडाडा, बकैया गाउँपालिका-१२ को आले, र बकैया-११ को सिमात घुम्तीमा कान्ती लोकपथ अवरुद्ध भएका थिए । त्यसैगरी, इन्द्रसरोवर-२ को छेपारेमा दक्षिणकाली सडक खण्ड र भिमफेदी-४ को रातोमाटेमा भैंसे-भिमफेदी-काठमाण्डौ सडक खण्ड पनि प्रभावित भएका थिए।
प्रहरी र सडक विभागको संयुक्त प्रयासमा धेरैजसो सडकहरू साँझसम्ममा एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। विशेषगरी, भिमफेदी-काठमाण्डौ-हेटौडा सडक खण्डमा अपराह्न ४ बजेतिर आएको पहिरो साँझ ६ बजेसम्ममा हटाई एकतर्फी यातायात सुचारु गरिएको छ।
यसबाहेक, जिल्लाका विभिन्न खोलानालाहरूमा पानीको बहाव बढ्दा समस्या सिर्जना भएको थियो। बागमती गाउँपालिका-१ को राईगाउँ जाने भित्री सडक खण्डको लम्कना खहरे खोला, बकैया-७ को हात्तीखोला, र बागमती-४ को चौराह खहरे खोलामा पानीको बहाव बढेर आवतजावतमा समस्या भएको थियो। तर, साँझसम्ममा पानीको बहाव कम हुँदै गएपछि यी क्षेत्रहरूमा पनि आवतजावत सामान्य हुँदै गएको छ।
देशभर केके भयो?
समग्रमा, सबैभन्दा चिन्ताजनक स्थिति पाल्पामा देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पाल्पाको कुमालगाउँ स्टेसनमा ४०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ। यो एक दिनमै अत्यधिक वर्षाको रेकर्ड हो। विशेषगरी शुक्रबार राति ११ बजेदेखि शनिबार दिउँसो १० बजेको अवधिमा मात्रै ३७८.६ मिलिमिटर वर्षा भएको थियो।
यस्तो अति भारी वर्षाले गर्दा पाल्पाको माडीफाँट लगायतका क्षेत्रहरू डुबानमा परेका छन्। स्थानीय बासिन्दाहरू आफ्नो घर र खेतबारी जोगाउन हम्मे-हम्मे परे । तर यो समस्या पाल्पामा मात्र सीमित रहेन । काठमाडौं उपत्यकामा पनि बागमती र हनुमन्ते खोलामा आएको बाढीले विभिन्न बस्तीहरू डुबानमा परेका छन्। यहाँसम्म कि ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय समेत डुबानमा परेको छ।
मानवीय क्षतिको कुरा गर्दा, काठमाडौंको नागार्जुन-३ मा पहिरोले एक व्यक्तिको ज्यान लिएको छ भने स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। यसबाहेक तनहुँ, दाङ, नवलपरासी पश्चिम लगायतका जिल्लामा केही मानिसहरू बेपत्ता भएका छन्।
मौसम विभागले अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ। स्थानीय प्रशासनले बासिन्दाहरूलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, खोला किनारमा नजान र सम्भावित पहिरो क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ। साथै, कुनै पनि आपत्कालीन अवस्थामा तत्काल स्थानीय प्रहरी वा प्रशासनलाई सूचित गर्न आग्रह गरिएको छ।
अझै २० राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध
आज दिनभर अविरल वर्षाको कारण नेपालभरका यातायात प्रभावित भए । प्रहरीको तथ्यांक अनुसार, कुल १ सय ६९ राजमार्गहरू अवरुद्ध भएका थिए, जसमध्ये प्रहरी र सडक विभागको संयुक्त प्रयासले ६२ राजमार्गहरूलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सफल भएको छ। त्यसैगरी, ८७ राजमार्गहरूमा एकतर्फी यातायात सुचारु गरिएको छ। तथापि, यो समाचार तयार पार्दासम्म पनि देशका विभिन्न भागमा २० राजमार्गहरू अझै पूर्ण रूपमा अवरुद्ध रहेका छन्, जसले गर्दा ती क्षेत्रहरूमा आवतजावत र आपूर्ति व्यवस्थामा गम्भीर समस्या उत्पन्न भएको छ।
कुन कुन राजमार्ग अबरुद्ध?
- रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग)
- डुम्रे-बेशीसहर-चामे
- तानसेन-रिडी-कोरला (गुल्मी, बरल्वा)
- तानसेन-रिडी-कोरला (गुल्मी, कनौटा)
- तानसेन-रिडी-कोरला (स्याङग्जा, रातोडाँडा)
- तानसेन-रिडी-कोरला (म्याग्दी)
- काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग)
- बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
- जमुनाहा-नेपालगंज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग)
- सुर्खेत तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक
- सुर्खेत तल्लो डुङ्गेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक
- हेटौडा-वागमती-टिकाभैरव-भैसेपाटी-एकान्तकुना ( कान्ती राजपथ)
- माडर -चौराहवा, गोलबजार सिरहा साँघुरे उदयपुर, मिर्चैया-कटारी-घुर्मी, हिलेपानी- ओखलढुगां-सल्लेरी
- पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
- बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
- बाहुनडाँगी-शान्तिनगर-धरान-चतरा-गाईघाट-कटारी-सिन्धुलीमाडी-हेटौडा-गैंडाकोट-रामपुर-राम्दी-रिडि-बलकोट-सन्धिखर्क-बिजुवार-सितलपाटी-सुर्खेत- बड्डीचौर-सहजपुर-वुडर-जोगबुढा-रुपाल ( मदन भण्डारी राजमार्ग)
- भेडेटार रबि राँके सडक
- पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
- बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग)
- पुष्पलाल (मध्य पहाडी ) राजमार्ग
भोलीको मौसम कस्तो रहला?
भोली (आईतबार) दिउँसो देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । महाशाखाले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आईतबार राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । त्यस्तै, सोमबार पनि देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।