फिचरजेनजी, अब तपाईंको बाटो कुन हो?

जेनजी, अब तपाईंको बाटो कुन हो?

देश फेरि एक पटक ठूला हलचलबीच उभिएको छ। लोकतन्त्र र गणतन्त्रको आवरणभित्र मौलाएको घुसखोरी, भ्रष्टाचार, बेथिति र जनतालाई दास सम्झने प्रवृत्तिविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन दुई दिनमै प्रधानमन्त्रीको राजीनामासम्म पुग्यो। यसले उनीहरूको आवाज र आक्रोशलाई नदेखेजस्तो गर्ने नेतृत्वलाई ठोस सन्देश दिएको छ।

तर आन्दोलनको यो उपलब्धि ठूलो मूल्यमा आएको छ। पहिलो दिनमै २० जना निर्दोष युवाले प्रहरी दमनका कारण प्राण गुमाउनु पर्‍यो। मुलुकभरका सरकारी संरचना, प्रशासनिक भवन, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिहरू क्षतिग्रस्त भए। सार्वजनिक सम्पत्ति जल्नु र उद्योग–व्यवसाय ध्वस्त हुनु भनेको भोलिको पुस्ताको अवसर नष्ट हुनु हो। आन्दोलनले एउटा परिणाम त निकाल्यो, तर मुलुकलाई आर्थिक तथा संरचनागत रूपमा दशकौँ पछाडि धकेलेर।

अब प्रश्न उठ्छ जेनजी आन्दोलनको मूल एजेन्डा के हो? सुरुवाती मागहरू स्पष्ट छन् । सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचार अन्त्य र प्रधानमन्त्रीको राजीनामा। यी तीनै बुँदा प्राप्त भएको वा आंशिक रूपमा सम्बोधन भइसकेको देखिन्छ। तर त्यसपछि देश कसरी अघि बढ्छ भन्ने रोडम्याप अझै अस्पष्ट छ।

आन्दोलन स्वतःस्फूर्त रूपमा सुरु भएको थियो, तर टिकाउ भविष्यका लागि संस्थागत नेतृत्व र साझा मोडालिटी अपरिहार्य छ। नेतृत्वविहीन आन्दोलन लामो समयसम्म धानिँदैन। यदि सडक आन्दोलन मात्र निरन्तर चलाइयो भने यसले जनतामै पुनः आक्रोश निम्त्याउन सक्छ। जेनजी पुस्ताले सडकमा जितेको ऊर्जा अब संस्थागत संवादमा परिणत गर्नुपर्छ।

यस घडीमा सुरक्षा निकाय र प्रशासनलाई पनि ठूलो जिम्मेवारी थपिएको छ। स्थायित्व र नयाँ कोर्षको मध्यस्थता गर्न उनीहरूलाई संयम र निष्पक्षता अपनाउन जरुरी छ। तर दीर्घकालीन समाधान भनेको सुरक्षा बलको बल प्रयोग होइन, समावेशी संवाद हो।

हामीले बिर्सनु हुँदैन माओवादी द्वन्द्वका दशकमा पनि यति व्यापक भौतिक क्षति भएको थिएन। दुई दिनमै मुलुकका प्रमुख संरचना ध्वस्त हुनु इतिहासकै ठुलो क्षति हो। यो स्थितिले आन्दोलनकारीले आफ्नो आक्रोशलाई अब रचनात्मक मोडमा लैजानै पर्छ।

जेनजी पुस्ता राष्ट्रको मेरुदण्ड हो तर देशलाई विध्वंस होइन, सुधार र निर्माण चाहिएको छ। यसैकारण अब जेनजी आन्दोलनले स्पष्ट एजेन्डा तय गर्दै संवादको बाटो रोज्नु अपरिहार्य छ। भ्रष्टाचारविरुद्धको अभियानलाई नीतिगत र संस्थागत सुधारतर्फ अघि बढाउने हो भने मात्र यो आन्दोलन इतिहासमा ‘सृजनात्मक रूपान्तरणको आधारशिला’का रूपमा अंकित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img