हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुका निजी घरमा आगजनी गरिएको छ।
बिहान ९ बजे सुरु भएको प्रदर्शन दिउँसो १२ बजेसम्म शान्तिपूर्ण रह्यो। त्यसपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदै स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रमुख अधिकारी स्किम श्रेष्ठले बताइन्। त्यसपछि उनले कर्फ्यू आदेश जारी गरेकी थिइन्।
आन्दोलनकारीले पहिलो चरणमा हेटौँडा उपमहानगरपालिकाको कार्यालयतर्फ प्रहार गरे। त्यसपछि विभाजित समूहले एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाको घर, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास, पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको घर, सांसद एकालाल श्रेष्ठ र एमाले मकवानपुर उपाध्यक्ष हिदम लामाको घरमा आगो लगाएका छन्।
प्रदेशका मुख्य मन्त्रालय—कृषि तथा पशुपन्छी विकास, श्रम, रोजगार तथा यातायात, खानेपानी तथा ऊर्जा सिंचाइ, भौतिक पूर्वाधार विकास, आर्थिक मामिला तथा योजना, सहकारी तथा गरिबी निवारण—सहित लोक सेवा आयोग, प्रदेशसभा सचिवालय, प्रमुख सचिवको निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उच्च अदालत पाटनको हेटौँडा इजलास, सरकारी वकिल कार्यालय, मालपोत र नापी कार्यालयमा आगजनी भएको छ।
यससँगै नवनिर्मित प्रदेशसभा भवन, यातायात सेवा कार्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश आपतकालीन आपूर्ति केन्द्र, वडा कार्यालयहरु र कांग्रेस तथा एमाले पार्टी कार्यालयमा पनि आगो लगाइएको छ।
राजनीतिक तथा सरकारी संरचना बाहेक व्यावसायिक क्षेत्रमा समेत असर परेको छ। हेटौँडा–२ चौकीटोलस्थित भाटभटेनी सुपरमार्केटमा प्रदर्शनकारीले प्रवेश गरी लुटपाट गरेपछि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आगो पश्चिमी मकवानपुरसम्म फैलिएको छ। मनहरी र बकैया गाउँपालिकाका कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ।
प्रहरीका अनुसार चार घण्टाभन्दा बढी समयसम्म हेटौँडाका विभिन्न स्थानमा आगजनी जारी रह्यो। सरकारी सवारीसाधन, फर्निचर, कागजातसहित धेरै संरचना नष्ट भए पनि क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।







