हेटौँडा | हामी जेनजी, नेपालका युवा, सडकमा निस्क्यौं। नेतृत्वको कमजोरी, भ्रष्टाचार र जनआवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले देशलाई पटक–पटक पछाडि धकेलेको देख्यौं। यही असन्तुष्टिले हामीलाई आन्दोलनमा ल्यायो।
सडकमा आवाज उठाउँदा तत्काल उपलब्धि सम्भव हुन्छ भन्ने कुरा हामीले अनुभव गर्यौं। प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्नु हाम्रो शक्ति थियो। तर यति मात्रले दीर्घकालीन परिवर्तन सम्भव हुँदैन भन्ने बुझाइ पनि अब छ। भवन जलाएर वा सम्पत्ति तोडफोड गरेर स्थायी सुधार आउँदैन।
विश्व इतिहासले पनि यही देखाउँछ। ट्युनिसियामा युवाको आन्दोलनले बेन अलीलाई हटायो र संस्थागत सुधारमार्फत लोकतान्त्रिक बाटो खोल्यो। तर मिस्रमा आन्दोलनले सत्ता त बदल्यो, परिणाम भने अस्थिरता र आर्थिक संकट भयो।
हामीले बलिदान गुमाएका साथीहरूको सम्झना गर्दैछौं। उनीहरूको सम्झनालाई केवल आक्रोशले होइन, सुधारले सम्मान गर्नुपर्छ। अब हाम्रो ऊर्जा संस्थागत सुधार, भ्रष्टाचार नियन्त्रण र लोकतान्त्रिक प्रक्रियामा प्रयोग हुनु अपरिहार्य छ।
नेतृत्वविहीन आन्दोलन लामो टिक्दैन। त्यसैले हामी स्वतःस्फूर्त भीड होइन, रणनीतिक र नेतृत्वसहितको आन्दोलनतर्फ अघि बढ्दैछौं। हङकङको युवा आन्दोलन होस् वा फ्रान्सको याल्लो भेस्ट, यी उदाहरणले संस्थागत संवाद र नीतिगत सुधारबिना आन्दोलन अधुरो हुने देखाएका छन्।
हाम्रो बाटो अब प्रष्ट छ। विरोध मात्र होइन, निर्माण पनि। आक्रोशलाई सिर्जनात्मकतामा रूपान्तरण गर्ने, क्षणिक उपलब्धिलाई दीर्घकालीन सुधारमा बदल्ने, यही हाम्रो जिम्मेवारी हो।
हामी विश्वास गर्छौं । हाम्रो पुस्ता अब केवल आक्रोशको शक्ति होइन, रचनात्मक र संस्थागत परिवर्तनको शक्ति बन्नेछ। यही बाटोले नेपाललाई नयाँ दिशातर्फ डोर्याउनेछ।



