हेटौँडा | मकवानपुरको हेटौँडामा रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा हेटौँडा–१ स्थित फलफूल तथा तरकारी बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन समारोहमा वडाध्यक्ष सविन न्यौपानेले फोहोर व्यवस्थापन स्वास्थ्यसँग सिधा सम्बन्धित रहेको उल्लेख गर्दै, घरबाटै फोहोर वर्गीकरण गर्नुपर्ने र बजार क्षेत्रमा नियमित सरसफाईको व्यवस्था गर्नुपर्नेमा जोड दिए । रेडियो थाहाका सञ्चालक अरुणराज सुमार्गीले भने रेडियोले १८ वर्षदेखि जनसरोकारका कार्यक्रम सञ्चालन गर्दै आएको र सामाजिक उत्तरदायित्वका क्रियाकलापमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, टोल विकास संस्था नगर समन्वय समिति, ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालि, शहरी स्वास्थ्य केन्द्र नकौली र अन्य स्थानीय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले बजार क्षेत्रको व्यवस्थित सञ्चालन, सरसफाई, र व्यवसाय विकासका लागि साझेदारी र सहकार्य आवश्यक रहेको बताएका थिए।
स्टेशन म्यानेजर गोकुल अधिकारीका अनुसार सप्ताहव्यापी आयोजना अन्तर्गत आगामी दिनहरूमा पत्रकार महिला र महिला अधिकारकर्मीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता, थाहा दर्शन कार्यक्रम, स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण, बाल साहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह हुनेछ।
रेडियो थाहा मकवानपुरमा १८ वर्षदेखि समाचार, विचार, मनोरञ्जन र सामाजिक कार्यक्रमहरू मार्फत जनसरोकारको विषयलाई प्राथमिकता दिँदै आएको छ। यस कार्यक्रमले समुदायलाई सरसफाई, स्वास्थ्य र सामाजिक उत्तरदायित्वबारे सचेत गराउने काम गरेको आयोजकले बताएका छन्।



