समाजमहाशिवरात्रिमा प्रहरीको आग्रह : गरगहना लगाएर मन्दिर नजानु

महाशिवरात्रिमा प्रहरीको आग्रह : गरगहना लगाएर मन्दिर नजानु

काठमाडौं | काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने भक्तजन तथा उनीहरूका सरसामानको सुरक्षालाई ध्यानमा राख्दै १३ बुँदे अनुरोध जारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार महाशिवरात्रिका दिन अत्यधिक भीड हुने भएकाले चोरी, लुटपाट तथा अन्य अप्रिय घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बहुमूल्य गरगहना नलगाउन र महत्त्वपूर्ण तथा महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको हो।

प्रहरीले मन्दिर परिसरमा झोला नल्याउन, पशुपति क्षेत्र विकास कोषले तोकेको मापदण्डअनुसार प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। त्यस्तै दूध, गङ्गाजललगायत सामग्री ल्याउँदा फुट्ने सिसाका भाँडाको प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।

भक्तजनको सुविधाका लागि दर्शन मार्गअनुसार छुट्टाछुट्टै जुत्ता–चप्पल कक्षको व्यवस्था गरिएको जनाउँदै तोकिएको स्थानमा जुत्ता–चप्पल राखेर मात्र मन्दिर प्रवेश गर्न र दर्शनपछि छिटोभन्दा छिटो मन्दिर परिसर बाहिर निस्केर भीड व्यवस्थापनमा सहयोग गर्न प्रहरीले आग्रह गरेको छ।

त्यसैगरी पशुपतिनाथ मन्दिर प्राङ्गणमा मोबाइल फोन, क्यामरा लगायत सबै प्रकारका उपकरण प्रयोग निषेध गरिएको छ। छालाका सामान, जुत्ता–चप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिर प्रवेश गर्न नपाइने भएकाले त्यस्ता सामग्री सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न भनिएको छ।

प्रहरीले पाकेटमाराप्रति सजग रहन, आफ्नो सरसामानको सुरक्षा आफैँ गर्न, कुनै भक्तजन अस्वस्थ भएमा नजिकैका स्वास्थ्य शिविरमा सम्पर्क गर्न तथा कुनै सामान वा व्यक्ति हराएमा वा समस्या आएमा तत्काल प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन अनुरोध गरेको छ।

मन्दिर तथा मेला क्षेत्रलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नगर्न, निर्दिष्ट शौचालयको प्रयोग गर्न, शारीरिक रूपमा अशक्त र ज्येष्ठ नागरिकलाई दर्शनमा सहयोग गर्न तथा कुनै प्रकारको विशेष टिकट वा पासको व्यवस्था नरहेकाले पङ्क्तिबद्ध रूपमा शान्त र सभ्य ढङ्गले दर्शन गर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img