राजनीतिदेश जलाउने र कुशासन चलाउने शक्ति निर्वाचनमा पराजित हुन्छन् : प्रचण्ड

देश जलाउने र कुशासन चलाउने शक्ति निर्वाचनमा पराजित हुन्छन् : प्रचण्ड

रुकुम पूर्व | नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन फैलाउने तथा दमनकारी शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्।

रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले हालै सम्पन्न बङ्गलादेशको निर्वाचन परिणामबारे पनि टिप्पणी गरे।

उनले भने, “सिंहदरबार जलाइयो, संसद् भवन जलाइयो, सर्वोच्च अदालत जलाइयो। निजी सम्पत्ति र नागरिकका घरहरूमा आगो लगाइयो। अब आगजनी र ध्वंस मच्चाउने शक्तिहरू पराजित हुनेछन् र गणतन्त्र तथा परिवर्तनका पक्षधरहरू विजयी हुनेछन्।”

संयोजक प्रचण्डले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै भने, “बङ्गलादेशमा पनि आगजनी गरियो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर परिणाम उल्टो आयो। नजलाउने र स्थिरता चाहने शक्तिहरू विजयी भए।”

उनले थपे, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएको दाबी गर्नेहरू समेत तेस्रो स्थानमा सीमित भए। यहाँ पनि हल्ला र भ्रम फैलाउनेहरूको मूल्याङ्कन जनताले गरिसकेका छन्।”

संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउने प्रवृत्तिलाई रोल्पा–रुकुमका जनताले राम्ररी चिनेको उल्लेख गर्दै भने, “तपाईंहरूले बुझिसक्नुभएको छ, अब देशभरिका जनताले पनि यस्ता शक्तिलाई चिन्नेछन्।”

कार्यक्रममा उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। “भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ अभ्यास निर्माण गर्नेछौँ,” संयोजक प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img