मकवानपुरकैलाश गाउँपालिकास्यार्से कालिका मन्दिरमा शतचण्डी महायज्ञ हुँदै

स्यार्से कालिका मन्दिरमा शतचण्डी महायज्ञ हुँदै

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारस्थित करिब चार सय वर्ष पुरानो शक्तिपीठ स्यार्से कालिका मन्दिरमा शुक्रबार शतचण्डी महायज्ञ आयोजना हुने भएको छ। स्यार्से कालिका मन्दिर क्षेत्र विकास समितिको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा महायज्ञ हुन लागेको हो। विहीबार पूर्वाङ्ग कार्य सम्पन्न भइसकेको छ भने शुक्रबार विशेष क्षमा याचनासहित मुख्य अनुष्ठान गरिने जनाईएको छ ।

आध्यात्मिक गुरु सविन शिवाकोटीका अनुसार दुई दिनसम्म सञ्चालन हुने महायज्ञमा गङ्गा पूजन, पाठ पारायण, शतचण्डी पाठ, नवग्रह पूजन, लघुरुद्राभिषेक, श्रीसूक्त पाठद्वारा हवन तथा वैदिक–तान्त्रिक विधिबाट हवन लगायतका कार्यक्रम समावेश गरिएका छन्।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विगतमा ०५० सालको बाढीले क्षति पुर्‍याएको उक्त शक्तिपीठलाई स्थानीय र प्रदेश सरकारको लगानीमा क्रमशः विकास र व्यवस्थित गरिएको बताए। मन्दिर परिसरको निर्माण तथा संरक्षणमा स्थानीयवासी र विभिन्न दातृ परिवारहरूको समेत योगदान रहेको उनले उल्लेख गरे।

धार्मिक सहिष्णुता र संरक्षणलाई प्राथमिकता दिँदै गाउँपालिकाले शक्तिपीठ, गुम्बा, चर्च लगायत सबै धार्मिक स्थलको जगेर्ना र प्रवर्द्धनमा जोड दिइरहेको अध्यक्ष मुक्तानको भनाइ छ।

त्रिवेणी क्षेत्रमा अवस्थित उक्त मन्दिरमा परम्परागत रूपमा ठकुरी समुदायले पूजाआजा गर्दै आएको पुजारी दानबहादुर ठकुरीले जानकारी दिए। उनका अनुसार कालिका भगवतीका सात दिदीबहिनीमध्ये चारवटा यस आसपास क्षेत्रमा रहेका छन्।

यसै अवसरमा श्रीराम नवमीका दिन वास्तु पूजा, नवग्रह पूजा, नाग पूजा, क्षेत्रपाल पूजा, लक्ष्मीनारायण पूजा, योगिनी तथा नारायणबली पूजा समेत गरिने मन्दिर समितिका सचिव मनोज बर्तौलाले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img