हेटौँडा । बालेन शाह नेतृत्वको सरकारले घोषणा गरेको ‘घरघरमै सरकारी सेवा’ कार्यक्रम कार्यान्वयनको सुरुवात हेटौँडाबाट भएको छ।
हेटौँडा स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुर ले बुधबारदेखि हुलाकमार्फत राहदानी घरमै पुर्याउन सुरु गरेको हो। यो सेवा सरकारको सय दिने शासकीय सुधार कार्यक्रमअन्तर्गत अघि बढाइएको हो, जसमा पासपोर्ट, नागरिकता, लाइसेन्सलगायत सेवा घरदैलोमै उपलब्ध गराउने लक्ष्य राखिएको छ।
पहिलो चरणमा हुलाक कार्यालय मकवानपुर मार्फत ५० वटा राहदानी वितरणका लागि पठाइएकोमा सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण सुरु गरिएको छ। हेटौँडा–४ का २२ वर्षीय निश्चल मानन्धरले घरमै राहदानी पाउँदा सेवा प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरुवातमा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र सेवा सञ्चालन गरिनेछ भने हालसम्म कार्यालयमा थन्किएका करिब ५ सय राहदानी पहिलो चरणमै घरघरमा पुर्याउने योजना छ।
सरकारले चैत १३ मा सार्वजनिक गरेको शासकीय सुधार कार्यसूचीअनुसार हुलाक सेवालाई ‘गभर्मेन्ट कूरियर सर्भिस’ का रूपमा विकास गरी १०० दिनभित्रै यस्ता सेवा देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत सेवाहरू छिटो, सहज, बिचौलियामुक्त तथा निश्चित समयभित्र उपलब्ध गराउने उल्लेख गरिएको छ।
साथै, सेवा प्रवाहलाई क्रमशः डिजिटल, ‘फेसलेस’ र समयबद्ध प्रणालीमा रूपान्तरण गर्ने तयारी पनि सरकारले अघि सारेको छ।
हाल स्रोत–साधन र सुरक्षा संवेदनशीलताका कारण अन्य पालिकामा सेवा विस्तार हुन नसकेको भए पनि आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।



