यो वार्षिक राशिफल तयार पार्दा वैदिक ज्योतिष शास्त्रको परम्परागत गणना पद्धति अनुसार २०८३ सालको ग्रह–नक्षत्रको सूक्ष्म अध्ययन गरिएको हो । विशेष गरी बृहस्पतिको गोचर, शनिको साढेसाती, राहु–केतुको अक्ष तथा मंगलको भ्रमण पथलाई आधार मानी मेष राशिवालाहरूको जन्मकुण्डलीसँग तुलनात्मक विश्लेषण गरिएको छ। दशकौंको ज्योतिष अनुभव र सयौं कुण्डली अध्ययनबाट सङ्कलित ज्ञानका आधारमा यो राशिफल तयार पारिएको हो। यसमा उल्लिखित समयखण्ड, शुभाशुभ योग र उपायहरू विशुद्ध ग्रहगणनामा आधारित छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वर्षारम्भ आसलाग्दो देखिए पनि यो वर्ष मेष राशिवालाहरूका लागि उतारचढावपूर्ण रहने ज्योतिषीय संकेत छ। एकातिर शनिको साढेसातीको अशुभ प्रभावले स्वास्थ्य, आर्थिक र पारिवारिक क्षेत्रमा चुनौती ल्याउनेछ भने अर्कातिर बृहस्पतिको शुभ गोचरले आकस्मिक धनलाभ, यश र कीर्तिमा वृद्धि गराउनेछ।
वर्षलाई तीन प्रमुख घुम्तीमा विभाजन गर्न सकिन्छ। जेठ १८ गतेदेखि पाँच महिनासम्म घर–परिवारमा तनाव, साझेदारीमा विखण्डन र सगोलको सम्पत्तिमा भागबन्डाको सम्भावना रहनेछ। कार्तिक १२ गतेदेखि तीन महिनासम्म भने समस्याहरू सुल्झँदै जानेछन् । नोकरीमा प्रवेश वा पदोन्नति, पढाइमा राम्रो नतिजा, प्रेम र मित्रताको सुदृढीकरण तथा अर्थोपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। माघ १२ गतेपछि भने पुराना समस्या दोहोरिन सक्ने हुँदा विशेष सतर्कता आवश्यक छ।
आर्थिक दृष्टिकोणले यो वर्ष ठूलो उपलब्धि नभए पनि भविष्यका लागि लगानी गर्ने उपयुक्त समय हो। व्यापार र सेयरमा दीर्घकालीन सोचका साथ लगानी गर्नुहोस्। उद्योगधन्दामा वर्षको मध्यभागमा विशेष अवसर आउनेछ भने कृषि तथा पशुपालनमा वर्षको उत्तरार्ध फलदायी रहनेछ। असार, असोज, माघ र फागुन महिना आर्थिक उपलब्धिका लागि अनुकूल रहनेछन् भने वैशाख, साउन, मंसिर र चैत महिनामा स्वास्थ्य र अर्थमा सतर्क रहनु आवश्यक छ।
पारिवारिक जीवनमा चतुर्थ भावमा गुरुको गोचरले सुख र शान्ति ल्याउनेछ। घरमा शुभ मांगलिक कार्यका योग छन् र नयाँ मेहमानको आगमनको सम्भावना पनि रहेको छ। विद्यार्थीहरूका लागि करियरमा नयाँ अवसर खुल्नेछन् तर लक्ष्य प्राप्तिका लागि अधिक परिश्रम आवश्यक पर्नेछ। वैदेशिक रोजगारका नयाँ मार्गहरू पनि प्रशस्त हुनेछन्।
स्वास्थ्यका हिसाबले मंगलको प्रतिकूल प्रभावले चोटपटक, मौसमी रोग र पित्तदोषका समस्या आउन सक्छन्। नियमित व्यायाम र स्वस्थ दिनचर्या अपनाउनु यो वर्षको मूल मन्त्र हो।
प्रतिकूल ग्रह प्रभावबाट मुक्त हुन श्रीगणेश र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला । शनिको साढेसाती शान्त पार्न शनिवार पीपलको पूजा गरी जल चढाउनुहोस्। काली भगवती र हनुमानजीको भक्तिले पनि शनिदोष निवारण हुनेछ। सकारात्मक सोच, इमान्दारिता र कुसंगतबाट टाढा रहनु नै यो वर्षको सबैभन्दा ठूलो सुरक्षाकवच हो।



