हेटौँडा । मकवानपुरको कुलेखानीमा सम्पन्न ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिमले नेपाली पत्रकारिताले डिजिटल युग र नयाँ पुस्ता (जेनजी) को अपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने निष्कर्षसहित बिहीबार समापन भएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारू मगरले जेनजीको सोच र सामाजिक परिवर्तनको मर्मलाई आत्मसात नगरे पत्रकारिता पछि पर्ने बताएका छन्।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखाको सहकार्यमा वैशाख १६ र १७ गते सञ्चालन भएको तालिममा ४० जना पत्रकारको सहभागिता रहेको थियो। तालिममा एआईको आधारभूत अवधारणा, कन्टेन्ट क्रिएसन, प्रम्प्ट इन्जिनियरिङ, अडियो–भिडियो जेनेरेसन तथा भिजुअल स्टोरीटेलिङका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक शिव पुरी र अजय शर्माले सहजीकरण गरेका थिए। सहभागीहरूले एआई प्रयोग गरेर तयार पारेका सामग्रीहरू प्रस्तुत गरेका थिए।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष मगरले “समाजको ऐनाका रूपमा रहेको पत्रकारिताले युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न नसके सञ्चार क्षेत्र पछि पर्छ” भन्दै पत्रकारिताको भूमिकामाथि पुनर्विचार आवश्यक रहेको बताए। उनले मिडिया कमजोर भए लोकतन्त्रमा समेत असर पर्ने उल्लेख गरे। कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख पदम ओझाको अध्यक्षता रहेको थियो भने महासंघका उपाध्यक्ष हरि हुमागाईं र मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले पत्रकारितामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको धारणा व्यक्त गरे।
सहभागीहरूले एआईले पत्रकारितामा गति र पहुँच बढाए पनि सत्यता, विश्वसनीयता र नैतिकताको पक्षमा थप जिम्मेवारी बढाएको प्रतिक्रिया दिएका छन्।



