समाजराष्ट्रिय औसतभन्दा धेरै पछाडि मकवानपुर

राष्ट्रिय औसतभन्दा धेरै पछाडि मकवानपुर

हेटौँडा |  मकवानपुरमा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले फेरि एकपटक जिल्लाभित्रको शैक्षिक असमानताको गहिरो चित्र उजागर गरेको छ। एउटातर्फ केही विद्यालयले शतप्रतिशत नतिजा निकालेर उत्कृष्ट उपलब्धि हासिल गरेका छन् भने अर्कोतर्फ कतिपय विद्यालयमा एक जना विद्यार्थीसमेत उत्तीर्ण हुन सकेनन्। जिल्लाको समग्र नतिजा राष्ट्रिय औसतभन्दा तल झर्यो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार मकवानपुरबाट एसईईमा सहभागी ५ हजार ५२७ विद्यार्थीमध्ये २ हजार ८१८ जनाले मात्रै ग्रेड प्राप्त गरेका छन्। २ हजार ७०९ विद्यार्थी नन–ग्रेडेड भएका छन्। यस आधारमा जिल्लाको समग्र उत्तीर्णदर करिब ५०.९९ प्रतिशत रहेको छ। यो राष्ट्रिय औसत ६५.९८ प्रतिशतभन्दा झन्डै १५ प्रतिशतले कम हो।

हेटौँडाको अग्रता, राक्सिराङको चिन्ता

जिल्लाभित्र सबैभन्दा राम्रो नतिजा हेटौँडा उपमहानगरपालिकाले दिएको छ। हेटौँडाको औसत उत्तीर्णदर ६४.६४ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसतसँग नजिक देखिन्छ। निजी विद्यालयको उपस्थिति, नियमित शैक्षिक गतिविधि, अभिभावकको पहुँच र तुलनात्मक रूपमा राम्रो पूर्वाधार यसको मुख्य कारण मानिएको छ।

हेटौँडाका केही विद्यालयले शतप्रतिशत नतिजासमेत निकालेका छन्। बाल जागृति इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय र तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले सबै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्।

तर जिल्लाको अर्को पाटो निकै निराशाजनक छ। राक्सिराङ गाउँपालिकाको समग्र उत्तीर्णदर ११.३६ प्रतिशतमा सीमित भएको छ। गाउँपालिकाका ६ विद्यालयबाट परीक्षा दिएका १३२ विद्यार्थीमध्ये केवल १५ जनाले मात्रै ग्रेड प्राप्त गरेका छन्।

श्री सूर्योदय माध्यमिक विद्यालयले गाउँपालिकाभित्र सबैभन्दा राम्रो नतिजा निकाल्दै ४२ मध्ये १३ जना विद्यार्थी उत्तीर्ण गरायो। तर प्रजा जागृति माध्यमिक विद्यालय, चैनपुरबाट १६ मध्ये एक जना मात्रै उत्तीर्ण भए भने कालिका माध्यमिक विद्यालय, राक्सिराङ–९ बाट १८ मध्ये एक जना मात्रै पास भए।

त्यसभन्दा गम्भीर अवस्था त त्यहाँ छ, जहाँ विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये एक जनाले पनि ग्रेड ल्याउन सकेनन्। जिल्लामा चार विद्यालयको नतिजा शून्य रहेको छ। राक्सिराङका कालिका माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र देवीटारस्थित माध्यमिक विद्यालयमा सहभागी विद्यार्थीमध्ये कसैले पनि ग्रेड प्राप्त गर्न सकेनन्। भीमफेदी गाउँपालिकाको पञ्चकन्या माध्यमिक विद्यालयको अवस्था पनि उस्तै रह्यो।

यसपटकको नतिजाले निजी र सामुदायिक विद्यालयबीचको दूरीलाई पनि थप स्पष्ट बनाएको छ। निजी विद्यालयले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याएका छन् भने ग्रामीण सामुदायिक विद्यालयहरूको अवस्था कमजोर देखिएको छ।

विशेष गरी अंग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यालय र नियमित अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयको नतिजा उल्लेखनीय देखिएको छ। हेटौँडा, थाहा नगरपालिका र केही सहरी क्षेत्रका विद्यालयमा राम्रो नतिजा आउँदा कैलाश, राक्सिराङ, बकैया र दुर्गम क्षेत्रका विद्यालय भने कमजोर सूचीमा परेका छन्।

थाहा नगरपालिकाले करिब ५६.८५ प्रतिशत नतिजा निकालेको छ भने इन्द्रसरोवर गाउँपालिकाको उत्तीर्णदर करिब ४१ प्रतिशत आसपास देखिएको छ। मकवानपुरगढी गाउँपालिकाको नतिजा ४५ प्रतिशतभन्दा माथि पुगे पनि अपेक्षाअनुसार सुधार हुन सकेको छैन।

 

 

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img