हेटौँडा । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएसँगै हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारी वैकल्पिक सडकमा मोडिएका छन्। एकैपटक ठूलो संख्यामा सवारी वैकल्पिक मार्गमा केन्द्रित हुँदा सामान्य अवस्थामा करिब तीन घण्टाको यात्रा अहिले पाँच घण्टासम्म लम्बिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टका अनुसार वैकल्पिक सडक साँघुरा भएकाले सवारीलाई विभिन्न स्थानमा केही समय रोकेर समूहगत रूपमा पठाउने गरिएको छ। एम्बुलेन्सलगायत अत्यावश्यक सवारीलाई भने प्राथमिकता दिइएको छ।
साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक रुट प्रयोग गरिएको छ। हेटौँडाबाट काठमाडौँ जाने १४ सिटसम्मका सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालन भइरहेका छन्। काठमाडौँबाट हेटौँडा आउने सवारी भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आइरहेका छन्।
साना सवारीसँगै उपत्यकाको अत्यावश्यक वस्तु आपूर्ति प्रभावित हुन नदिन मालवाहक सवारीका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार १२ चक्कासम्मका मालवाहक सवारीलाई मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ।
काठमाडौँबाट हेटौँडातर्फ आउने मालवाहक सवारीले भने ललितपुरको एकान्तकुना–छम्पी–टिकाभैरव हुँदै कान्ति लोकपथ प्रयोग गर्नेछन्। मालवाहक सवारी एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको सुवेदीले बताए।
यी दुवै मार्गमा ग्यास बुलेट सञ्चालन गर्न नदिने व्यवस्था गरिएको छ। ग्यास भरिएका सिलिन्डर बोकेका ट्रकलाई भने त्रिभुवन राजपथबाट सञ्चालन गरिने सुवेदीले जानकारी दिए।
कृष्णभीरको अवरोधका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौँ आउजाउ गर्ने सवारी मकवानपुरका वैकल्पिक सडकमा केन्द्रित भएका छन्। यसले भीमफेदी–कुलेखानी क्षेत्रसहित वैकल्पिक मार्गमा सवारी चाप बढाएको छ।




