पोखरा । लामो समय पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका वासुदेव पौडेल पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानका लागि सम्मानित भएका छन् ।
हाल राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश कार्यालय प्रमुख रहेका पौडेललाई पोखरा पर्यटन परिषद्ले आफ्नो २६औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनको अवसर पारेर सम्मान गरेको हो ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल र परिषद्का अध्यक्ष तारानाथ पहारीले पौडेललाई कदरपत्र प्रदान गरे ।
पौडेलको पत्रकारिताको महत्वपूर्ण समय पोखरासँग जोडिएको छ । पोखरा र आसपासका पर्यटकीय क्षेत्रलाई समाचार तथा पत्रकारितामार्फत प्रवर्द्धन गर्न भूमिका खेलेका उनी पोखरा पर्यटन परिषद्को प्रेस सल्लाहकारको जिम्मेवारीमा समेत रहिसकेका छन् । यही योगदानको कदर गर्दै परिषद्ले उनलाई सम्मान गरेको हो ।
कार्यक्रममा पर्यटन बोर्डका बोर्ड सदस्य पोखरेलले पोखराको पर्यटन विकास अब स्थापित गन्तव्यको प्रचारमा मात्रै सीमित हुन नहुने बताए । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनसँगै पोखरालाई काठमाडौँलगायत प्रमुख सहरसँग जोड्ने वैकल्पिक राजमार्ग आवश्यक रहेको उनको भनाइ थियो ।
परिषद्का सल्लाहकार परिषद् संयोजक डम्बरबहादुर केसीले पोखरामा रहेको पर्यटन सम्भावनालाई थप उपयोग गर्न सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए ।
परिषद्का अध्यक्ष पहारीले पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाको छाता संस्थाका रूपमा परिषद्ले पर्यटन प्रवर्द्धनसँगै नीतिगत सुधारका विषयमा पनि पहल गर्दै आएको बताए ।




