मकवानपुर । लगातारको वर्षाका कारण रुपन्देहीको तिनाउ र नुवाकोटको त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह लगातार बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार रुपन्देहीको बुटवल जलमापन केन्द्रमा तिनाउ नदी र नुवाकोटको धुन्चे जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतराको पूर्वसङ्केत अर्थात् सतर्कता तह नाघेको हो। बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनारका सडकबाट यात्रा नगर्न र सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत गराएको छ।
अविरल वर्षाका कारण बुटवलसहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरीको टोलीलाई आवश्यक उपकरणसहित उच्च सतर्क अवस्थामा राखिएको छ।
हाल तिनाउ र त्रिशूलीसहित बूढीगण्डकी, मर्स्याङ्दी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पूर्वतर्फ कोशी क्षेत्रमा वर्षाको क्रम केही घटे पनि भोटेकोशी, तामाकोशी, सुनकोशी, रोशी र दूधकोशी जलाधारमा वर्षा जारी रहने भएकाले सप्तकोशी तटीय क्षेत्र (सप्तरी र सुनसरी) मा पनि जोखिम कायम रहेको मौसमविद्हरूले जनाएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतबारसम्म नै देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।




