हेटौँडा । लगातारको वर्षासँगै कुलेखानी जलाशयको पानीको सतह निरन्तर बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै देउराली–सिस्नेरी सडकखण्डमा आइतबार अपराह्न ४ बजेदेखि सवारी सञ्चालन बन्द गरिने भएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सडक सोमबार बिहान ५ बजेसम्म दुवैतर्फ बन्द रहनेछ। रातिको समयमा जलाशयको अवस्था थप संवेदनशील बनेर आकस्मिक रूपमा बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसावधानी अपनाइएको उनले बताए।
सवारी चलिरहेकै बेला चेतावनीको साइरन बज्न सक्ने र त्यसले चालक तथा यात्रुमा अन्योल वा त्रास सिर्जना गर्न सक्ने जोखिमसमेत प्रशासनले औँल्याएको छ।
भैँसे हुँदै देउराली–सिस्नेरीतर्फ र फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारी सो अवधिमा सञ्चालन गर्न पाइने छैन।
प्रशासनले हाल कुलेखानी बाँधको ढोका खोलिएको भने नभएको स्पष्ट पारेको छ। अत्यावश्यक यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ।




