काठमाडौँ । नेपाल आयल निगमले बडादशैँको सार्वजनिक बिदाका दिनमा पनि इन्धन आपूर्ति सहज बनाउन पम्प तथा डिपोहरू खुला राख्ने भएको छ। निगमले टीकाको दिन र एकादशीबाहेकका अन्य दिनमा उपत्यकासहित देशका विभिन्न प्रदेशमा रहेका डिपोहरू आलोपालो सञ्चालन हुने जनाएको छ।
सार्वजनिक गरिएको तालिकाअनुसार काठमाडौँको थानकोटस्थित डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहनेछ। यसैगरी, मधेश प्रदेशको अमलेखगन्ज डिपो कात्तिक १, २, ६ र ८ गते तथा कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते खुला रहने निगमले जनाएको छ।
अन्य क्षेत्रमा पनि डिपो सञ्चालनको समय निर्धारण गरिएको छ। गण्डकी प्रदेशको पोखरा डिपो कात्तिक १, २ र ६ गते, लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछन्। त्यसैगरी, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम डिपो कात्तिक २ र ७ गते खुला रहनेछन्।
चाडपर्वका बेला इन्धनको अभाव हुन नदिन र उपभोक्तालाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन डिपो तथा पम्पहरू निश्चित तालिकाअनुसार खुला राख्ने व्यवस्था मिलाइएको निगमले स्पष्ट पारेको छ।


