मकवानपुर । बडादसैँ एवं नवरात्रको आठौँ दिन (महाअष्टमी) आज देशभरका दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। वैदिक सनातन परम्परा अनुसार आश्विन शुक्ल अष्टमीका दिन महागौरीको पूजा गर्ने गरिन्छ।
पौराणिक मान्यता अनुसार देवी महागौरीको रङ पहिला कालो भएकाले भगवान् शिवले ख्यालठट्टामा ‘काली’ भनेपछि देवीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकी थिइन्। सोही कारण उनको नाम महागौरी रहन गएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ। श्वेत वस्त्र धारण गरेकी महागौरी सेतो वृषभ (साँढे) माथि सवार रहने धार्मिक विश्वास छ।
गत असोज २५ गते घटस्थापना गरी सुरु भएको यस वर्षको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने परम्परा छ। नवरात्रमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।
यसैबीच महागौरीको पूजाका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ। सरकारले नवरात्रको सातौँ दिन (फूलपाती) देखि सार्वजनिक बिदा दिएकाले पनि मन्दिरहरूमा दर्शनार्थीको उपस्थिति बढेको छ।
विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी सुरु हुने दसैँको प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ।


