काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्।
स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको जीप हिजो बेलुका दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सीताबेन पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ–२ की नीता बगाले रहेका छन्। प्रहरीका अनुसार उनीहरूमध्ये पाँच जनाको घटनास्थलमै र नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परी कालीगण्डकी–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। घाइतेहरूको कालीगण्डकी सामुदायिक अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ। दुर्घटनाको कारण हालसम्म खुलेको छैन र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


