मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० बिसुङ्खेलस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। चित्लाङबाट बिसुङ्खेलतर्फ जाँदै गरेको बा.प्र.०२–०६४ प ३६५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०६५ प २६०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा बा.प्र.०२–०६४ प ३६५२ नम्बरको मोटरसाइकलका चालक थाहा नगरपालिका–९ नारायणहिटीका करिब ४५ वर्षीय सुरेन्द्र मोहन बलामी घाइते भएका छन्। उनको दाहिने खुट्टा, हात र बायाँ आँखामा चोट लागेको छ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक थाहा नगरपालिका–७ निवासी १५ वर्षीय समिर गोले, उनकी १३ वर्षीया बहिनी शलिना गोले र पछाडि सवार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ निवासी १७ वर्षीया सोनिका स्याङ्तान घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते चारै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो। हाल घाइतेहरूको काठमाडौँस्थित नेशनल अस्पताल र त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय चित्लाङको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


