खेल समाचारबागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना...

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परिषद्ले कानुनी कारबाहीको तयारी गरेको छ।

​परिषद्का अनुसार हालसम्म प्रदेश भलिबल संघसहितका अधिकांश खेल संघ परिषद्मा दर्ता तथा आबद्ध भएका छैनन्। परिषद्ले गत असोज १६ गते पहिलो सूचना जारी गरेको थियो भने त्यसपछि सात दिनको अन्तिम समयसीमा दिँदै कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको थियो। तर, अझै पनि कतिपय संघसंस्थाले उक्त प्रक्रिया पूरा गरेका छैनन्।

​प्रदेश खेलकुद विकास ऐन, २०७५ र नियमावली, २०७६ अनुसार सबै खेल संघसंस्था परिषद्मा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था छ। तोकिएको मापदण्ड र प्रक्रिया पूरा नगर्ने संघसंस्थालाई आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आधिकारिक छनोट प्रक्रियालगायत परिषद्का अन्य कार्यक्रम र सहयोगमा सहभागी नगराइने चेतावनी दिइएको छ।

​खेल संघहरू नियमित प्रशासनिक काम र कानुनी प्रक्रिया पूरा गर्नुको सट्टा नेतृत्व चयन र चुनावी गतिविधिमा मात्र केन्द्रित हुँदा खेलाडीहरूको भविष्यमाथि असर पर्ने देखिएको छ। संघहरूको यस किसिमको कमजोरीका कारण खेलाडीहरू आगामी प्रतियोगिता तथा अन्य अवसरहरूबाट वञ्चित हुन सक्ने जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार