मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर्तनका कारण हिमनदी र पर्वतीय क्षेत्रमा निर्भर समुदायले भोगिरहेको जोखिम सम्बोधन गर्न तथा कार्यक्रमको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न नेपालले यो प्रस्ताव अघि सार्न लागेको हो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपालले सन् २०२७ देखि कार्यक्रम सुरु गर्ने समयसीमा, यसको कार्यक्षेत्र तथा कार्यान्वयन विधि र जलवायु वित्त तथा अनुकूलनका पर्वतविशेष सूचक स्पष्ट पार्न प्रस्ताव गर्नेछ।
कोप–३१ को अध्यक्षतामा पक्ष राष्ट्रहरूसँगको परामर्शपछि तयार गरिएको निर्णय मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव समेटिएको छ। उक्त कार्यक्रमले वैज्ञानिक बुझाइ अभिवृद्धि गर्ने, अनुकूलनका काम अघि बढाउने तथा पर्वतीय र हिमनदीमा निर्भर समुदायको उत्थानशीलता निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
मस्यौदाको बुँदा ३२ मा सहायक निकायका ६६औँ र ६८औँ अधिवेशनमा यस विषयमा संवाद आयोजना गर्ने र निरन्तरता दिने उल्लेख छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा पर्वतीय मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने नेपालको प्रयासमा यसलाई महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ। यद्यपि, नेपाल र भूटानले गत अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका कतिपय विषय भने मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन्।


