काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार यो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार हो।
गत वर्ष ४७.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए, जुन तथ्यांकले शिक्षा प्रणालीको गहिरो समिक्षा आवश्यक रहेको देखाएको थियो। त्यसैको फलस्वरूप प्रधानमन्त्रीदेखि शिक्षामन्त्री र सम्बन्धित निकायहरूले एसईईको गुणस्तर सुधार गर्न निर्देशन दिँदै आएका थिए। यस वर्षको परिणाममा १३.९५ प्रतिशतको सुधार देखिनु सकारात्मक संकेत मानिएको छ।
एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ परीक्षार्थी सहभागी भएका थिए। बोर्डका अनुसार नियमित परीक्षामा सहभागीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४, २.४ देखि २.८ ल्याउने ४८ हजार ४७९ र २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना रहेका छन्।
त्यस्तै १.६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ भने १२६ जनाको परीक्षा रद्द गरिएको छ। बोर्डले नन ग्रेडेड विद्यार्थीलाई मौका परीक्षा दिन साउन २९ गतेदेखि अवसर दिने निर्णय पनि गरेको छ।
नतिजाको यो सुधार सहज रूपमा आएको होइन। अघिल्लो वर्षको कमजोर नतिजापछि सामाजिक, शैक्षिक र राजनीतिक तहमा आलोचना भयो। विद्यार्थीहरूको मनोबल खस्किएको, अभिभावकको विश्वास कमजोर भएको र शिक्षकहरू स्वयं दबाबमा परेका थिए। त्यसैले यस वर्ष राष्ट्रिय परीक्षा बोर्ड, विद्यालय प्रशासन, शिक्षक र विद्यार्थी सबैले अतिरिक्त मेहनत गरे। शिक्षण पद्धति र मूल्यांकन प्रणालीमा केही सुधार ल्याइएका थिए भने प्रश्नपत्रहरू पनि अपेक्षाकृत सन्तुलित बनाएर तयार पारिएको शिक्षा मन्त्रालयका स्रोतहरू बताउँछन्।
नेपालको सन्दर्भमा सीपमूलक र प्राविधिक शिक्षाले रोजगारको बाटो खोल्ने प्रमाणित भइसकेको छ। कक्षा ११ र १२ मा प्रविधिमुखी शिक्षाको लागि सीटीईभीटी अन्तर्गतका कार्यक्रमहरू लोकप्रिय बन्दै गएका छन्। कम्प्युटर इन्जिनियरिङ, पशु विज्ञान, होटल म्यानेजमेन्ट, सिभिल ड्राफ्टिङजस्ता विषयमा दक्षता हासिल गरेमा स्वदेशमै रोजगारी पाउने सम्भावना उच्च छ।
सरकारले सीपमूलक शिक्षामा विशेष प्राथमिकता दिँदै आएको छ। “केवल शैक्षिक डिग्री हैन, प्रयोगात्मक ज्ञान लिएको विद्यार्थी अबको प्रतिस्पर्धामा अगाडि रहनेछ,” श्रम तथा रोजगार मन्त्रालयका एक उच्च स्रोतले बताए।
शिक्षाविद्हरूको भनाइमा अभिभावकले आफ्ना छोराछोरीका छनोटको सम्मान गर्नुपर्छ। “हामीले हाम्रो सपना छोराछोरीमाथि थोपर्ने होइन, उनीहरूको सपना बुझ्न जरुरी छ,” शिक्षाविद् पराजुली बताउँछन्। समाजमा अझै पनि डाक्टर, इन्जिनियर बन्ने दबाब विद्यार्थीमा देखिन्छ, तर त्यो सबैका लागि उपयुक्त नहुन सक्छ।
यस वर्षको एसईई नतिजाले शिक्षा क्षेत्रमा केही हदसम्म सुधारको संकेत दिएको छ। यद्यपि यो पूर्ण उपलब्धि होइन। शैक्षिक सुधारको यो यात्रा अब विषय चयन, कक्षा ११–१२ को पठनपाठन, मूल्यांकन प्रणाली र विद्यार्थीको समग्र विकासमा केन्द्रित हुनुपर्छ।