बेनी- म्याग्दीको पाखापाखेरामा जताततै पाइने सिस्नोबाट पाउडर प्रशोधन गरी उत्पादन गरेपछि यहाँको सिस्नो नेपालका मात्रै नभई विदेशका पाँचतारे होटलमा समेत पुग्न थालेको छ ।
बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादित खाद्यान्न उपभोगतर्फ आकर्षित भएका छन् । कुनै समय गाउँका गरिबको खाना मानिने सिस्नो जस्ता ग्रामीण उत्पादनहरूअहिले सहरको बजारमा धनीको रोजाइ बन्न थालेका छन् ।
आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण हुने स्वास्थ्य समस्याबाट बच्न विषादीको प्रयोगविना अर्गानिक रूपमा उत्पादन हुने तरकारी तथा खाद्यवस्तुप्रतिको आकर्षण ग्रामीण क्षेत्रमा बढ्न थालेको छ ।
ग्रामीण क्षेत्रमा उत्पादित खाद्यान्न, दाल र तरकारीको माग बढ्न थालेपछि राजधानी बेनीमा एक महिला उद्यमीले ती सामग्री मात्रै बिक्री गर्ने पसल खोलेकी छिन। तरकारीले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन् ।
गरिबको खाना भनेर चिनिने सिसनोको परिकार पछिल्ला वर्षहरुमा विदेश तथा सहरी बजारमा लोकप्रिय बन्दै गएपछि म्याग्दीका व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएका छन् । म्याग्दीका उद्यमीहरूले उत्पादन गरेको स्वास्थ्यवर्द्धक सिस्नो पाउडर अहिले काठमाडौं, पोखरालगायत ठूला सहरमा मात्रै नभई विदेशबाट पनि माग छ । सिसनो पाउडर सेवन गरेपछि महिनावारी नियमित हुने, ग्यास्ट्रिक, स्त्री रोग, बाथ र मधुमेह निको हुने सिसनो पाउडरको माग बढेको उदमीले बताए ।
यसलाई झोल बनाएर खानामा पनि प्रयोग गर्न सकिन्छ । जिल्ला साना व्यवसायी संघ म्याग्दीका अनुसार गत वर्ष म्याग्दीमा १ हजार ३ सय किलो पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो ।
जिल्लाका बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजमा पनि पाउडरको माग बढ्दै गएको छ ।



