मकवानपुर: बागमती प्रदेश सामाजिक विकास मन्त्रालय बालमैत्री प्रदेश घोषणाको तयारीमा रहेको जनाएको छ । सन २०२७ सम्म देशभरका पालिकाहरूमा बालमैत्री घोषणाको लक्ष सङ्घीय सरकारले लिइरहँदा बागमती प्रदेश सरकारले पनि तीव्र रूपमा बालमैत्री प्रदेश घोषणाको तयारीमा रहेको जनाएको छ ।
बालविवाह, बालश्रम र लागु औषध प्रयोग र ओसारपसार विरुद्ध एवं बाल अधिकार संरक्षण सम्बद्धमा सामाजिक विकास मन्त्रालयको समन्वय र बाल कल्याण समाजको आयोजनामा भएको एक दिवसीय प्रदेश स्तरीय कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले उक्त कुरा बत्ताइन । उनले बाल विकासका सवालमा नीति पास भैसकेको पनि जानकारी दिइन ।
कार्यक्रममा बोल्दै बाल कल्यान समाजका अध्यक्ष प्रकाश खतिवडाले बालमैत्री प्रदेश अभियानमा रहेको क्रममा बालबालिकाको सवालमा समाजमा विभिन्न समस्या देखिरहेको बताए । प्रदेश बाल अधिकार समिति पनि निकै चिन्तित भएको बताउँदै सामाजिक क्षेत्रमा बजेट विनियोजन गरेर द्रुत रूपमा अगाडी बढ्नु पर्नेमा उनको जोड थियो ।
हरेक पालिकामा बाल संरक्षण प्रणालीको सुदृढीकरण आवश्यक पर्ने बताउँदै बागमती प्रदेश सरकार पालिका स्तरमै पुगेर काम गरिरहेको खतिवडाले जानकारी दिए ।
कार्यक्रममा बालविवाह, बालश्रम र लागु औषध प्रयोग र ओसारपसार विरुद्ध एवं बाल अधिकार संरक्षण सम्बद्धमा नागरिक समाज, प्रदेश सरकार, स्थानीय सरकारको दाईतो बारे छलफल भएको थियो । त्यस्तै, बागमती प्रदेशलाई ड्रग मुक्त कसरी गर्ने?, बालबालिकाको सवालमा आगामी दिनमा बागमती प्रदेश कसरी अगाडी बढ्ने, नीतिगत तथा कानुनी व्यवस्था कसरी प्रभावकारी गराउने, बाल सवाल र नियमन, बालविवाह हुने कारण र कसरी मुक्त गर्ने लगायतका विषयमा अन्तर्क्रिया गरिएको थियो ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फूर्वा दोर्जे तामाङले आफ्नो वडा बालमैत्री घोषणाको अन्तिम चरणमा रहेको बताउँदै सरोकारवाला मात्र नभएर समुदाय स्तरमै गएर चेतना जगाउनुपर्ने जोड दिए ।
यता, सामाजिक विकास मन्त्रालयका प्रशासकीय अधिकृत अमृत अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयको तर्फबाट बालबालिकाको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको र यस एक दिवसीय कार्यक्रम पालिका स्तरमा पनि सञ्चालन गर्ने जानकारी दिए ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य र बाल कल्यान समाजका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षयतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फूर्वा दोर्जे तामाङ, जिल्ला समन्वय समितिको सदस्य तारा ढुङ्गाना, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, श्रम रोजगार कार्यालय मकवानपुरका प्रमुख छन्द नारायण श्रेष्ठ लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
श्रम कार्यालय मकवानपुरका प्रमुख छन्द नारायण श्रेष्ठले चरम बेरोजगारी, गरिबी आर्थिक अवस्थाका कारणले बाल श्रम हुने गरेको बताए । श्रेयले धेरैजसो बालश्रम वर्कसपहरूमा भेटिने गरेको जानकारी दिए । केही हद सम्म जनतामा सचेत गराउन सफल भएपनी हरेक ठाउँमा पुग्न नसक्दा समस्या भएको उनको भनाई थियो । चालु आर्थिक वर्षको पुससम्म १६ जना बाल श्रमिकको उद्धार गरेको पनि जानकारी दिए ।
तर बाल्मैत्रीको सूचकांक मध्ये एक बालविवाह बढ्नु प्रमुख समस्या बने देखिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामै किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित सरकारी अस्पतालमै २० वर्षभन्दा कम उमेरमै किशोरी आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागेको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै, उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौलगाईका अनुसार चालु आर्थिक वर्षमा उपमहानगरपालिकामा मात्रै ३ सय ३४ जना किशोरी आमा बनेका छन् । बाल मैत्री घोषणाको तयारी गरिरहेको पालिकामा किशोरी आमा बन्ने सङ्ख्या निरन्तर बढिरहेको छ । गत वर्ष हेटौडा उपमहानगरपालिकामा दुई सय ८० जना किशोरी आमा बनेका थिए ।
बालमैत्री पालिका घोषणाका लागि हेटौँडा उपमहानगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको सन्दर्भमा किशोरी आमाको सङ्ख्या नघट्नु प्रमुख समस्याको रूपमा देखिएको छ । विभिन्न कारण सानो उमेरमै किशोर किशोरीहरूले विवाह गरेर आमाबुबा बन्न पुगेका छन् । हेटौँडा अस्पतालमा धेरै गाउँघरबाट किशोरीहरू गर्भवती भएर आउने गरेको र विभिन्न जिल्लाबाट समेत किशोरीहरू निफर भई आउने गरेको अस्पतालले जनाएको छ ।
मकवानपुरमा गत वर्षमा ५ हजार ६१ आमा हुनेमा ५ सय १ जना किशोरी आमा बने भने ९ सय ८६ जनालाई सिरियन गरेर आमा बनेको कार्यालयले जनाएको छ ।
यो पनि: मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो