होक्काइदो । सुदुर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा शक्तिशाली भुँइचालो गयो र सुनामी आयो भने १ लाख ४९ हजार जनाको ज्यान जान सक्ने होक्काइदो सरकारले बिहिबार सार्वजनिक गरेको क्षतिसम्बन्धी प्रक्षेपणले देखाएको छ ।
यो केन्द्र सरकारले गरेको प्रक्षेपणको तुलनामा करीब १२ हजार धेरै हो । जोखिमयुक्त स्थानबाट प्रभावितहरुको स्थानान्तरण तत्कालै प्रभावकारी रुपमा गर्न सकियो भने मर्नेको संख्यामा उल्लेख्य कटौती गर्न सकिने पनि प्रतिवेदनमा बताइएको छ ।
केन्द्र सरकारको प्रक्षेपणमा जापान ट्रेञ्च र चिशिमा ट्रेञ्चमा विनाशकारी भुइँचालो गयो र सुनामी निम्त्यिो भने यसबाट होक्काइदोदेखि टोकियोसम्म अनि देशका अन्य क्षेत्रमा के कस्ता क्षति हुन सक्छ भन्ने अनुमान गरिएको छ । होक्काइदो सरकारले अहिलेसम्म भएका भौगोलिक सर्वेक्षणहरुबाट प्राप्त तथ्यांक अनि जोखिमयुक्त स्थानबाट बाहिरिने मार्ग र सुनामी आउने स्थानबाट जोखिमयुक्त स्थानको दूरी आदिका आधारमा प्रक्षेपण संसोधन गरेको थियो ।
जापान वा चिशिमा ट्रेन्चमा महाविनाशकारी भुँइचालो आयो भने होक्काइदो समेत सात ओटा प्रिफेक्चरमा १ लाख ९९ हजार जनाको मृत्यु हुने सक्ने अनुमान डिसेम्बरमा केन्द्र सरकारले गरेको थियो ।
सो प्रक्षेपणअनुसार सबैभन्दा खराब अवस्थामा होक्काइदोमा मात्रै १ लाख ३७ हजार जनाको मृत्यु हुन सक्ने छ । घरभित्र भएको समयमा लुक्ने वा आश्रय लिने राम्रो ठाउँ नहुँदा होक्काइदोमा मात्रै १९ हजार जनासम्मले ज्यान गुमाउन सक्ने अनुमान केन्द्र सरकारले गरेको छ । होक्काइदो सरकारको अनुमानमा यो संख्या ६६ हजार जना छ । महाविनाशकारी भुकम्पमा पूर्ण रुपमा क्षतिग्रस्त हुुने भवनको संख्या पनि १ हजार ७०० ले बढाएर ६ हजार २०० मा पुर्याइएको छ । विपद् रोकथाम शिक्षा र जनचेतनाका लागि नयाँ प्रक्षेपणको प्रयोग गर्ने होक्काइदो सरकारले बताएको छ ।
होक्काइडो जापानको दोस्रो ठूलो टापु हो र यसको आफ्नै क्षेत्र बनाउँदै सबैभन्दा ठूलो र उत्तरी प्रान्त समावेश गर्दछ।