भोकमरीले ग्रस्त अफगानी परिवारहरूले पैसाका लागि आफ्नो सन्तान बेचिरहेको बीबीसीको रिपोर्टले देखाएको छ ।
तालिबानले शासन चलाउन थालेपछि विदेशी सहयोग बन्द भएकाले अफगानिस्तानको अर्थतन्त्र धराशायी छ ।
बीबीसीकी संवाददाता योगिता लिमाये हेरात शहर बाहिरको एक गाउँमा पुगेकी थिइन् । त्यहाँ एक आमाले आफ्नी नवजात शिशुलाई ५०० डलरमा बेचेको बताइन् । अन्य सन्तानलाई खाना किन्नका लागि छोरी बेचेको उनको भनाइ छ ।
छोरी किन्ने मान्छेले उनलाई हुर्काएर आफ्नो छोरोसँग विवाह गराउने भनेका छन् तर त्यसको ग्यारेन्टी छैन । ती व्यक्तिले शुरूमा २५० डलर तिरेको र त्यसबाट परिवारलाई केही महिना खुवाउन पुग्ने उनले बताइन् । बच्चा हिँड्न सक्ने भएपछि ती व्यक्ति लिन आउने उनको भनाइ छ ।
वर्ल्ड फूड प्रोग्रामले अफगानिस्तानको आधा जनसंख्याले नोभेम्बर महिनादेखि चरम खाद्यान्न असुरक्षाको समस्या भोग्ने चेतावनी सोमवार दिएको छ ।BBC



