Wednesday, March 26, 2025
अन्तर्राष्ट्रियरेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तिको मृत्यु

रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तिको मृत्यु

कोलम्बो |श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार राति एक यात्रुवाहक रेल र हात्तीको ठूलो बथान ठोक्किँदा ६ हात्तीको मृत्यु भएको छ । यो श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा गम्भीर रेल-हात्ती टक्करको घटना मानिएको छ ।

स्थानीय समाचार स्रोतका अनुसार दुर्घटनामा परेका दुई अन्य हात्ती गम्भीर घाइते छन्, जसको उद्धार गरी उपचार भइरहेको छ । श्रीलंकाका वन्यजन्तु संरक्षण संस्थाका अनुसार रेल दुर्घटनामा हरेक वर्ष करिब २० हात्तीको मृत्यु हुने गरेको छ ।

श्रीलंकामा वन क्षेत्र सानो हुँदै जाँदा हात्तीहरू आफ्नो प्राकृतिक बासस्थान छाडेर मानव बस्तीमा प्रवेश गर्न बाध्य भएका छन् । खाद्य स्रोतको अभावका कारण उनीहरू खेतबारी, गाउँ तथा रेलमार्गमा निस्कने गरेका छन्, जसले रेल ठक्करजस्ता घातक दुर्घटना निम्त्याएको छ ।

वन्यजन्तु संरक्षण संस्थाहरूका अनुसार गत वर्ष मात्रै मानव-हात्ती द्वन्द्वमा १७० भन्दा बढी मानिस र ५०० भन्दा बढी हात्तीले ज्यान गुमाएका थिए । हात्तीहरूको मृत्यु केवल रेल दुर्घटनाबाट मात्र सीमित छैन; बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको आक्रमणका कारण पनि उनीहरू मारिने गरेका छन् ।

वन्यजन्तु विशेषज्ञहरू र सरकारी निकायहरूले रेल चालकहरूलाई जंगल र हात्ती करिडोरहरू पार गर्दा रेलको गति कम गर्न र हर्न बजाएर हात्तीलाई सचेत गराउन अपिल गरिरहेका छन् । तर, यी उपायहरू पर्याप्त प्रभावकारी सावित भएका छैनन् ।

हबराना क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरू भएका थिए । सन् २०१८ मा सोही क्षेत्रमा एक गर्भवती हात्ती र तिनका दुई बच्चाहरू रेल ठक्करबाट मारिएका थिए । गत अगस्तमा मिनेरिया क्षेत्रमा भएको यस्तै घटनामा दुई हात्तीको मृत्यु भएको थियो भने एक हात्ती गम्भीर घाइते भएको थियो ।

श्रीलंकामा करिब ७ हजार जङ्गली हात्ती रहेको अनुमान छ, जसलाई बौद्ध समुदायले धार्मिक रूपमा पूजाअर्चना गर्ने गर्छन् । कानुनी रूपमा हात्ती मार्नु अपराध मानिन्छ, जसका लागि जेल सजाय वा ठूलो जरिवाना तोकिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img