सुनसरी / भोलि वराहक्षेत्र नगरपालिकाको सक्रिय साहित्यिक संस्था पूर्वेली साहित्य मञ्चले वराहक्षेत्रमा पहिलो पटक गजल महफिलको आयोजना गर्ने भएको छ ।
नेपाली गजलका पिता भनेर चिनिने राष्ट्रिय विभूति तथा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५७ जन्म जयन्तीको अवसरमा २०७९ भाद्र ११ गते शनिबारका दिन आधुनिक नेपाली गजल क्षेत्रका चर्चित र रूचाइएका गजलकारहरूको समुपस्थितिमा आयोजना गर्न लागिएको छ ।
मोती जयन्तीका दिन वराहक्षेत्र- ७ स्थित सूर्य फेमिली होटलको सभा हलमा दिनको भोलि साढे ३ बजेदेखि सञ्चालन हुने भएको छ ।
`वराहक्षेत्रमा साहित्यिक गतिविधिहरू कम हुने र त्यसमा पनि बिशेषगरि कविता विधालाई प्राथमिकतामा राखिने परिपाटी रहेकोमा यस पटक केही फरक गरौँ भन्ने उदेश्यले गजल महफिल आयोजना गरिएको उक्त महफिललाई “पूर्वेली महफिल” नाम दिइएको मञ्चका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।
उक्त महफिलमा आधुनिक नेपाली गजलमा चलेका पूर्वेली गजलकारहरू धनकुटाका ईश्वर दाहाल, झापाका लोकेन्द्र बञ्जरा तथा सुनसरीका रोमु अधिकारीका साथमा स्थानीय गजलकार चन्द्र थपलियालाई समेटिएको आयोजकले जानकारी दिएको छ । उक्त महफिलमा सहभागीता जनाइदिन सम्पूर्ण साहित्यकार, साहित्यप्रेमी तथा स्थानीयहरूलाई आयोजकले आग्रह समेत गरेको छ ।



