Saturday, December 7, 2024
देशगण्डकी प्रदेशबाग्लुङमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बाग्लुङ: बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित शारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् ।

बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिए । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताए ।

गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउँछन् ।

सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले बिहीबार नै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् ।

बिहीबार एकै दिन पाँच छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताए ।

अध्ययन गर्न विद्यालय गएका बालिका एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ । विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउँछिन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img