- अशेष अधिकारी
गौरबले आज बजारको दिन भएकोले निकै आसाका साथ बजार गईरहेको छ । आसा यस कारणले कि उसले आज नयाँ नयाँ कपडा किन्न पाउने भएको छ । उसलाई उसको दाईलाई भन्दा बढी लुगा किनीदिने भएका छन् । उ सिधा सिधा कपडा पसल तर्फ आमा सँग जान्छ । त्यहाँ भएका अनेक किसीमका लुगा कपडाहरुले उ आँफै अन्योलमा पर्छ कि उसले कस्तो किसीमको लुगा किनोस् । तै पनि आँफुले देखे सम्मका लुगाहरु उसले छानछुन गर्न थाल्छ । एउटै पसलमा आँफुलाई चित्त बुझ्ने लुगा के भेटिएला र ? अहँ उसलाई चित्तै बुझेन ।
गौरब बसेको गाउँ अहिले पहिला भन्दा बिल्कुलै बदलिएको छ । पहिला गाउँमा जुन किसिमले मानिसहरुले आफ्नो जिविका चलाउने गरेका थिए, आजको समयमा यो बिलकुलै विपरित धु्रव जस्तो लाग्छ । समय आखिर उस्तै के रहिरहला त ? लामो समय पछि पनि आफु बसेको ठाउँ उस्तै देखिनु एकदम मुस्कील नै छ ।
उ बसेको गाउँमा पहिला जब गौरब ताते ताते गरेर हिँड्ने गरेको थियो तब उसको गाउँमा धेरै युवाहरु त्यतै गाउँतिरै भेटीन्थे तर आज भोली वैदेशिक रोजगारको खोजीले गाउँलाई सुन्य बनाएको छ । सबै युवाहरु विदेश तर्फ ग्राभिटेट हुन थालेका छन् । घर घरमा त केवल आमा बाबुको मुख देखि बाहेक अरुको मुख देख्नै सकिँदैन । युवाले देश छाड्नुले घरमा वृद्ध बा आमा एक्लै पर्न गए ।
गौरबले लुगा पसलमा हेर्न त अनेक थरि कै लुगा हेरेको थियो । उसलाई मन पर्ने लुगा त्यो लुगा पसलमा छैन भने यसमा त्यो लुगा पसले दाईको गल्ति नै के भयो र ? गौरबको अनुहारको डिजाइन हेर्दा गौरब रिसाउन लागे जस्तो देखिन्थ्यो । त्यो रीस प्रस्फूट हुनु अघि नै उसको आमाले उसलाई “भैगो नरीसाउ म तिमीलाई अर्को लुगा पसलमा लगेर अझै राम्रो लुगा किनीदी हाल्छु नी । कुनै लुगा पसलमा आफुले खोजे जस्तो लुगा नभेट्नु स्वभाविक नै कुरा हो नी ।” भनेर भन्छिन् । धेरै वटा लुगा पसल चहारी सकेपछि उनीहरुले एउटा लुगा पसलमा उसले खोजे जस्तो लुगा भेटे । हुन पनि नजिकको तिर्थ हेलाँ भन्ने उखान नै चरितार्थ भयो । त्यो लुगा पसल अरु कसैको नभएर आफ्नै छिमेकी दिदिको थियो । यसपाली त त्यहाँ के भन्नु, किसीम किसीमका लुगाहरु ल्याएकी रहिछन् नी मेरी बास्सै । गौरबको लुगा लगायत गौरबकी आमाले अरु खत्राङ खुत्रुङ कुराहरु पनि किन्छिन् । जे होस् मान्नै पर्छ उनले घर आउँदा दुई झोला चाहीँ भरी बनाएर नै आइन् । उनले एउटा झोला गौरबलाई बोक्न दिएकी थिईन् भने अर्को चाहीँ आँफै बोकेकी थिइन् । अङ्ग्रेजीमा एउटा कहावत छ नि “होम स्विट होम”, उनिहरु त्यही होममा आईपुगे तर स्विट चाहीँ थिएन, सायद गौरबले खाँदै गरेको चक्लेट चाहीँ स्विट भएर होला । सपिङको भारी झोला हल्लाउँदै उनीहरु दुवै घर भित्र प्रवेश गर्छन् ।
गौरबको दाजु पनि उनिहरु घर भित्र प्रवेश गरे लगत्तै घरमा आउँछ । दाजु ज्योतीले आफ्नी आमा र भाईले झोला भरी सामान ल्याएको देखेर आफ्नो लागि पनि केहि न केहि त ल्याइदिएका छन् होला नी यीनीहरुले भनेर केहि छिन् त मख्ख पर्छ तर उत्तर केवल सुन्यता मात्र छ । त्यो सुन्यतालाई चिर्दै उसले उसकी आमालाई सोध्छ । “यत्रो दुई झोला सामान छ, यसमा पक्कै पनि मेरो लागि पनि केही सामान त ल्याउनु भएको छ होला नि हैन त ? दाजुभाईमा कोही लाखा अनि कोहि पाखाको स्थिती त पक्कै पनि सिर्जना नहोला नि !” तर उसकी आमा निहुरीएर चुपचाप स्थिर भुइँमा स्वयम् पनि स्थिर भएर हेरी रहन्छिन् । तर ज्योती चाहीँ गतिसिल भएर गौरबको हातबाट झोला खोसेर आफ्नो हातमा लिन्छ ।
उसले त्यो झोलामा सबैका लागि सबै सामान भेट्यो तर उसको लागि कुनै सामान भेटेन । “लु गरी खाओ” उसले सासले बोलेर बड्बडाउन थाल्छ । उसले अहङ्कार र रीस आधा आधा मिसिएको मिश्रणका साथ त्यो लोला आमा तर्फ प्रहार गर्न आफ्नो सब्दवाणको प्रयोग गर्दै भन्छ । “यस्तो अज्ञात प्रेरणा कसरी मिल्यो मलाई चाहीँ एक्लै छोड्ने ? घरमा त गौरबले मलाई एक्लै छाड्दैन तर यसरी सपीङ गर्ने मामलामा चाहीँ ?”उनीहरुको छीमेकी बेकम्मा सराबी छ । त्यसैले उनीहरुको सानो गन्थनलाई चिर्दै ठूलो स्वरमा छीमेकको आँगनमा उफ्रिएर उसकी स्वास्निलाई गाली गरेको हल्ला गाउँ भरी उग्र हुन थाल्छ ।
ज्योतीले दिक्क मान्दै भन्छ “हरे शीव, आज फेरी यीनीहरुको घरमा सुरु हुन थाल्यो, यीनीहरुको हल्लाले कानमा रुवा खाँदेर सुत्नु पर्ने स्थिती आउन लागेको छ । दिन दिनै यस्तो ध्वनी प्रदुसणले विचता कानको जालीले के धान्न सक्छ होला र ? यीनीहरु हल्ला गर्ने बेला चाहीँ एकान्त ठाउँमा हल्ला गरेर त्यसपछि हल्ला खल्ला सकिए पछि चाहीँ घर आए त सिङ्गो समाजलाई नै अक्सिजन मिल्ने थियो ।” “के गर्छौ त नानी आजको सभ्य समाजमा सभ्यताले आत्मह’त्या गरेपछि, राजाको पनि केहि नलाग्ने रहेछ । तीमी भयौ भीखारीको भन्दा एक स्टेप माथिको नागरीककोे छोरा, जसको लागि सपिङबाट केहि पनि सामान ल्याईएको छैन ।” गौरबले “लाउनु दाजु यो एउटा चाउचाउमा परेको चक्लेट छ यहि तिम्रो लागि” भनेर भन्छ । ज्योतिले झस्किएर भन्छ “ध्यात्तेरीका के कुरा गरेको, आलु जस्तो ।” “ए साँची आज बेलुका आलु खानु पर्छ है तर ज्योतीलाई चाहीँ नदिउँ होला किनकी उसले खान चाहीँ आलु नै खान्छ किनकी हामीले पकाएको आलु नै हुन्छ नी तर पिँडालुको धाक देखाउन कुनै कसुर छाड्दैन ।” गौरबले भन्छ । गौरबको घुमाउरो उत्तर सुनेर ज्योतीको दिमागको तारहरुले संगीत ध्वनी कर्कसताको साथ बजाउन थाल्छन् । ज्योती रीसले चर्कन थाल्छ । साँच्चै भनेको त्यती धेरै त अहिले सम्म उनिहरु बसेको गाउँमा घाम पनि दिउँसो मासा चर्किएको थिएन होला । उसलाई थाहा थिएन होला रीसले कसरी बीस भएर ठूला ठूला उपद्रो घटाउनलाई चोसे ढुङ्गाको काम गरेको थियो विगतमा भनेर । तर उसलाई वर्तमान नै प्यारो र भविष्यले कहिलै झकझकाउँदो पनि रहेनछ । एकचोटी भविष्यले उसलाई झकझकाउन अगुल्टाले हाने पनि हुने थियो किनकी अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि आत्तिने थियो ।
ज्योती दिन भरी कारखानामा काम गर्थो । उसको जीवन औसत गरीबीको रेखा मूनी रहनेहरुको जस्तै नै थियो । दिनभरी काम गरी भारी सरीर र भारी मस्तिस्क लिएर कारखानाको साहुको किच किचका साथ आयो । टेबलमा एउटा पङ्खा उसैलाई हेरी रहे झैँ गर्दछ जब उ खाटमा आँफुलाई हलुका छाड्छ । उ पङ्खा चलाएर आफ्नो सरीर र मस्तिस्कको उपचार गर्न खोज्छ । उसको भाईले तै पनि उसलाई कहाँ सान्तिले सुत्न दिन्छ र उ सँगै टाँसिन आइपुग्छ । जहिलै गौरब ज्योती कामबाट फर्कँदा केही मीठो खानेकुरा पो लिएर आयो कि भनेर विचार गर्छ । तर विचरा आँफैले कहाँबाट खान पाओस्, खाजा त कहिल्यै टन्न पेट भरि खान पाउँदैन उसले, भाईलाई के लिएर आवोस् र ।
खै आज कुन दिन पर्यो त्यो त क्यालेन्डर मै हेर्नुपर्ला तर आज जे होस् रात एकदम भयङ्कर थियो । तर यो रातको विशेषता के छ भन्दा चाहे मानिस सेता हुन् या काला हुन् सबैथोक कालै देखिन्छ । बिचरा मेकअप बालाको दिमागलाई चेकअप गर्ने बेला होला किनकी उनीहरुको मेकअप आखिर कुन दौड प्रतियोगितामा भाग लिएर हार्दै छ ? यति बुझ्नुहोस् , भयङ्कर रात छ । जुन रात सायद चोर, डाका र पल्ला घरे काका सबैलाई प्यारो होला । चोर डाकालाई लुट्नको हतार पल्ला घरे काकालाई जानुपर्ने कतार । किन कतार जाने भनेर भन्यो भन्नुहोला । रक्सि खाएर आएर रात भरि झगडा गरेपछि अनि घरबाट बाहिर खेदेर गेटको ढोका लगाए पछि अब जानु परेन त कतार तिरै यसो बुढी अनि छोराछोरी खुसी होलान् तर जाने कसरी ? जाने भन्दा पनि रक्सि भोली पनि खाने कसरि ? यहि कुरा ति काकाको दिमागमा रोटेसन गरी रहन्छन् ।
पल्ला घरे काकाको एउटा बानी चाहीँ निकै अनौठो छ, उनलाई भुत–सुत केहीको पनि डर न भर हिँड्ने गर्छन् सरासर् । खाएपछि त भुत पनि तिन डाँडा पर भाग्छन् भन्ने अर्को फिलोसोफि उनकोे अवचेतन मनमा लिप्त भएको होला । हीजो मात्र उनले गाउँको फलैँचामा बसेर कुनै अनजान बटुवालाई “मैले भुत सँग कुस्ति खेलेको जितेँ पनि तर साला गोल्ड मेडल नै दिने कोही आयोजक नै थिएन । ठिकै छ अर्को चोटी म तिमिहरुलाई नै कार्यक्रम आयोजना गर्ने जिम्मेवारी दिउँला ।” भन्दै गफ हाँक्दै थिए । आज पनि उनि आयोजकलाई भेला पार्ने हुन् कि होइनन् त्यो त थाहा छैन तर यो कुरा सास्वत सत्य हो की उनी चीहानको बाटो लागे । साँच्चै आखिर उनलाई खोला पारिको चिहान सँग के मोहनी लागेछ, सँधै पीरको इलाजको लागि र घरमा नहुँदा बासस्थानको खाँचो चिहानले नै पुरा गरेको थियो । ति काकाको बारेमा कसैले आलोचना गरे भने उनी मुसुक्क हाँसे जस्तो गर्छन् । अनौठो बानी छ उनको । उनी मुसुक्क हाँसेको देखेर यो मान्छेले आलोचना पचाउन सक्ने रहेछ भन्ठानेर अरुहरुले उनको अझै आलोचना गर्न थाल्छन् । कीनकी जो मान्छे आँफैमा हाँस्न सक्छ उसैको माथि ज्यादा आलोचनाको बज्रपात हुँदो रहेछ । किनकी साधारण गणितिय सिद्धान्त छ पिँडालु गुना आलु आलु नै हुन्छ । तर एकछिन पर्खनुहोस्, उनि आँफै माथि हाँस्ने मानिसमा सयमा सय पर्दैनन् । सयमा नब्बे त भ्रममा पर्छन्, सयमा दश चाहिँ तठस्थ हुन्छन् । तर उनि खासमा रिसाउनु भन्दा अघि यसै गर्छन् । यो नै उनको स्टाइल हो रिसाउने । सायद उनले रिसाउने चुरो उप्काउन यसै गर्छन् ।
मुसल्धारे पानी अगाडी आकास गर्जिन्छ । उनको गर्जिने शैली नै फरक रहेछ, अब सुरु हुन्छ मुसल्धारे बर्षा । उनको रीस त अचम्मै कडा सबै माथि गर्जन पुग्छन् । उनको गुम्सिएको भयानक रीस आखिर कसरी उनको सुरुको मुस्कुराहटले दर्साउन सक्ला र ? उनको भयानक रीस प्रस्फुटन भएको बेला गाउँमा सानो मेला लाग्न दशैँ नै कुर्नु पर्दैन, नयाँ वर्ष नै कुर्नु पर्दैन किनकी उनी आँफै दशैँ हो दशा मात्र भएको अनि आँफै नयाँ वर्ष पनि हो पात्रो मात्र फेरीने, सन्दर्भ उहि रहे जस्तो । कुरा एक हप्ता अगाडीको हो गाउँको ठूला ठालुमा गनीने भवानी अङ्कलले उनलाई रक्सि छोड् भन्दै सुध्रीन प्रेरीत गरेका रहेछन् । तर उनलाई चाहीँ बिग्रीन प्रेरीत गरेझैँ लागेछ, थोरा रिसाएका हैनन्, धन्नले हात हाल्न चाहीँ डराउँदा रहेछन् नत्र पुलीस नै बोलाउनु पर्ने अवस्था आउने थियो । खैर केहि छैन किनकी धन्नले केही भएन । यदी केही भएको भए सायदै यो कथाले टर्नीङ पोईन्ट लिने थियो होला ।
गौरब सँधै ज्योती दाजुको मावाईल मागेर मोवाइलमा अनौठा अनौठा कुरा हेर्दथ्यो । आफ्नो मोवाइल त हुनु पर्यो नि ! अनि अहिले बाटै भएर पनि हुँदैन । अनि उनिहरु गरीब पनि त छन् । उनीहरु त गरीब छन् भने पक्कै पनि उसले धनि कसरी हुने भन्ने बारेमा गरीएका कुराहरु हेर्छ होला नि ! हैन उ त त्यो भन्दा पनि माथिल्लो स्तरको कुरा हेर्दो रहेछ । जस्तै गरीब कीन अझै गरीब हुँदैछन् र धनि किन अझै धनि हुँदैछन् भन्ने कुरा । उसको भाषामा भन्नुपर्दा उ आँफुलाई सत्यको खोजी गर्ने मानिस भन्ठान्दो रहेछ र आखिर सत्य कति महान हुन्छ भन्ने कुरा त जो कोहीले बुझेकै राम्रो । तर भर्खर किसोर अवस्थाको उमेरमा पुगेकोलाई सत्य जाने के नजाने के, मोज मस्ति गर्ने उमेरमा उसलाई आखिर कुन दशा लागेछ ? सत्य जानेर चाहीँ के गर्ला ? यस्तै बच्चाहरुलाई त आन्दोलन भएको बेला खुसी बनाएर ढुङ्गा मुडा प्रहार गर्न सरीरमा खुन उमाल्ने काम गर्छन् ।
गौरब हरेक कुरालाई गम्भिर दृष्टि दीन थालेको छ । हरेक कुराबाट सत्यको बाटो खोज्न खोज्छ । एउटा समुन्द्र सत्य हो भने त्यहाँ खोला नालाहरुको गन्तब्य खोज्दा समुन्द्र भेटिन्छ । हरेक कुरामा सत्य खोज्ने गर्न थालेको थियो । आजभोली उ फेरम् हेन्समको विज्ञापन बनाउनेको निन्दा गर्न थालेको थियो । उनीहरु कसरी मानिस गोरो हुँदैमा उनिहरुलाई सबैले मन पराउँछन्, जागीरमा सेलेक्सन गर्छन् भन्ने झुटको पछाडीको सत्यको खोजी गरी सकेको थियो । तर विचरा बच्चा छ, उसलाई उसको इन्ट्रोपीलाई आफ्नो पढाईमा लगाएर सानो मान्छेले जस्तै कुरामा रमाउन कसले सिकाइदियोस् ? ए अनि साँच्ची गौरबको दाजु ज्योती सँधै एउटा टोपी पनि लगाउने गर्दथ्यो । गणेसको बहान मुसा भने जस्तो उसको बहान टोपी होला भलै उ टोपी माथी सवार अवस्य पनि गर्दैन । कति टोपी लगाउन मन लागेको कठै ! उसको बारेमा अनौठो कुरा जान्न चाहनु हुन्छ भने उ सुतेको बेला उसको सामु जानुहोस् । उसको प्यारो टोपी उ सुतेको बेला पनि उसको सिरमाथि विराजमान भएर रहेको हुन्छ । उसलाई टोपी यति प्यारो थियो कि सायद उसले सपनामा पनि आँफुले टोपी लगाइरहेको देख्थ्यो होला । यस्तो भेलुएबल टोपी उसलाई आखिर कस्ले गिफ्ट दियो होला अथवा उसले स्वयं आँफैले किनेको होला, आँफैले किन्दा पनि त्यो लक्की कुन पसलमा किन्यो होला जसको सामानले उसलाई मोहनी लगायो । यो सब अज्ञात नै छ ।
उनिहरुको आमातिर हेर्दा ब्लाक एण्ड वाइट फिलिमको दृष्य देखे जस्तो कदापि लाग्दैन । उनि मानिस मनले धनि हुने हो धनले होइन भन्ने फीलोसोफीलाई आत्मसात गर्छिन् । उनलाई उनका छोरा छोरीले भनिदिए पनि हुने हो की “ए आमा ! किन यति थोत्रो साडी लगाउँछ्यौ ? नयाँ साडी लगाउ” तर बोलेर मात्र के होला बोली सँगै साडी कीन्ने रकम चाहीँ कुन चेरीटीबाट उठाउने हो कुन्नी ? समग्रमा भन्नुपर्दा आमा तिर हेर्दा उनी जीवनबाट सन्तुष्ट नै देखिन्छीन् । त्यसैले त मोटाएर फुट्न लागेको फर्सी जस्ति भएकीछिन् । फेरी सबै मोटा मानिस खुसी हुन्छन् भन्ने पनि छैन । यदि यसो हुने हो त वैज्ञानिकले कुन मानिस खुसी छ या दुःखी छ भन्ने खोजी गर्न त्यती गाह्रो हुने थिएन होला ।
गौरब आमाले खाना बनाएको बेला सघाउन चाहीँ सघाउदैन थियो तर सँधै छेउमा बसेर उनले खाना बनाएको हेरी रहन्थ्यो । “मेरो छोरोले खाना बनाउन सिक्दैछ” भन्ठान्दि होलीन् गौरबकी आमाले । तर त्यसरी उनको छेउमा बसेर खाना बनाएको हेरेको पनि करीब करीब एक वर्ष हुन लागि सक्यो । साँच्चै त्यो नै सत्य हो भने त अहिले सम्म उसले आँफै खाना बनाउन थाल्नु पर्ने होइन र ? ठीक छ, आमाको साथी बसेको चाहीँ हुनुपर्छ ।
रातको करीब करीब ८ बजे खाना साना पाकि सक्छ र सबैजना गोलो घेरा लाएर बस्छन् । उनीहरुको बुबा, आमा अनि ती दुई दाजुभाई भोकले भुँडी कुइँ कुइँ पार्दै वरपर बस्छन् । आमाले खाना नबाँडे सम्म उनिहरुले अगातार त्यो भातको भाँडो तर्फ दृष्टिपात गर्दछन् । भोक मिठो कि भोजन मिठो भन्दा सायद भोक नै मिठो रहेछ, उनिहरु त्यो खानालाई प्यारका साथ खाने गर्दथे । खाना खाइ सकेपछि अन्तिममा भाँडामा केहि खाना अझै उब्रिएको छ कि भनेर हेर्ने डिउटी साहीँ सँधै ज्योती कै हुने गर्दथ्यो । दिन भरको भोको पेट, जागीरको फ्रस्टेसनको विरुद्धमा बेलुकाको त्यो मिठो तर भोको पेट भएकोले मात्र मिठो भएको हुनुपर्छ । हैन होला साँच्चै मीठो होला किनकी उनीहरुको आमाको हातमा जादु हुनुपर्छ । त्यो मीठो खानाले सबै धकावटलाई नष्ट पार्न एक सानो ज्वालामूखी विष्फोट गर्दथ्यो ।