काठमाडौं : सरकारको आइतवार पनि बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट परेको छ। आइतवारको बिदा खारेजीको माग गर्दै आज दुई रिट दर्ता भएको हो।
अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता डा दीपकविक्रम मिश्र तथा अधिवक्ता रामबहादुर शाही, अधिवक्ता सन्तोष भण्डारी, अधिवक्ता तेजकुमार लोहिया र अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल सरकार र विभिन्न मन्त्रालयहरुलाई विपक्षी बनाई सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
यसअघि २०५६ मा काठमाडौंमा यो नियम आर्थिक, सामाजिक, भौगोलिक कठिनाई र हाम्रो काम गर्ने संस्कृतिको कारण निरन्तरता पाउन नसकेको उल्लेख गर्दै निवेदकहरुले अहिले पनि कुनै अध्ययन, अनुसन्धान र विश्लेषणबिना नै ठूलो संवेदनशिल विषयमाथि निर्णय गरिएको बताइएको छ। यस निर्णयले देशको आर्थिक स्थिति मात्र नभई हरेक क्षेत्रमा दुरगामी असर निम्त्याउने उनीहरुको तर्क छ।
यो कार्य आफैमा असंवैधानिक र विवादास्पद भएकोले सो निर्णय उत्प्रेषणको आदेशले बदरभागि भएको उनीहरुको दावी छ। निर्णय बदरको माग गर्दै उत्प्रेषण, परमादेश लगायतका आवश्यक तथा उपयुक्त आदेशको माग समेत गरिएको छ।
गत बैशाखको दोस्रो साता सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्मको कार्यसमय पनि तोकेको थियो।
यसअघि नेपाल राष्ट्र बैंकले साताको दुई दिन बिदा दिने प्रस्ताव गरेको थियो। इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो।