काठमाडौं । सूर्यदर्शन सहकारीबाट अर्बौं ठगी गरेर फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राईलाई नेपाल फर्काउन प्रहरीलाई चुनौती भएको छ । मलेसियामा लुकेका राईलाई ल्याउन ईन्टरपोल मार्फत डिफ्युजन र रेडकर्नर नोटिस जारी गरिए पनि मलेसिया सरकारले सुपुर्दगी गर्न अझै अनिच्छुक देखिएको छ ।
प्रहरी प्रमुख आइजीपी बसन्तबहादुर कुँवरले बुधबार संसदीय समितिमा उपस्थित भई राई मलेसियामा भएको खुलासा गरे। “जीबी राई मलेसियामा नै छ, उहाँलाई नेपाल ल्याउन हामीले सम्भव प्रयास गरिरहेका छौं,” कुँवरले भने, “तर मलेसियाले उहाँलाई सुपुर्दगी नगरेकाले अहिलेसम्म उहाँलाई नेपाल फर्काउन सकेका छैनौं ।”
कुँवरका अनुसार सरकारले सुपुर्दगी गर्न मलेसियासँग अनौपचारिक अनुरोध गरिसकेको छ, तर अझै असहमति कायम नै छ। गृहले राईविरुद्ध धोकापूर्ण आरोप लगाउँदै सुपुर्दगी सन्धि गर्न खोजेको भए पनि मलेसियाले नमानेको उनले बताए। मलेसियाले सहमति नजनाएकाले ईन्टरपोलले राई फर्काउन नसक्ने आइजीपीले स्पष्ट पारे।
अकोतिर, राई पक्षले भने उनी मलेसियामा नभएको दाबी गरिरहेको छ।
सूर्यदर्शन सहकारी घोटालाका मुख्य आरोपित राईलाई फर्काउन सघन प्रयास भइरहेको भएपनि मलेसियाको असहयोगले चुनौती खडा गरेको आइजीपीले बताएका छन् ।