काठमाडौं | चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार गत चैत मसान्तसम्म कूल १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाखको वैदेशिक व्यापार गरिएकोमा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख घाटा व्यहोरेको हो ।
चालु आवको नौ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाखको आयात र एक खर्ब १३ अर्ब ९४ करोड ६० लाखको निर्यात भएको छ । यो अवधिमा गत आवको तुलनामा आयात २.८४ प्रतिशत, निर्यात ३.६६ प्रतिशत र वैदेशिक व्यापार २.९२ प्रतिशतले घटेको विभागले जनाएको छ ।
नेपालले छिमेकी मुलुक भारतसँग मात्रै ६ खर्ब ५१ अर्ब ८० करोड व्यापार घाटा व्यहोरेको छ भने चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड घाटा देखिएको छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई), युक्रेन, मलेसिया र अष्ट्रेलियासँग पनि बढी व्यापार घाटा व्यहोरिएको छ ।
नेपालले ३२ मुलुकसँग व्यापार नाफा कमाएकोमा सबभन्दा बढी डेनमार्कबाट ३९ करोड ६ लाख ३ हजार नाफा कमाएको छ । यस्तै अफगानिस्तान, नर्वे र सुडानबाट पनि केही नाफा कमाइएको छ ।