काठमाडौं | पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार रातिदेखि देशभर मौसममा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो प्रणालीको प्रभावले पुसे झरी सुरु हुने र जाडो अझै बढ्ने अनुमान गरेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय छ। यो प्रणालीको कारण बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबार रातिदेखि बदली सुरु भएर शनिबार वर्षा हुने देखिन्छ।
कहाँ-कहाँ वर्षा हुने सम्भावना?
विभागका अनुसार देशभर सामान्य बदली हुने भए पनि मुख्यतः सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा मात्रै वर्षा हुने छ। कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। “शुक्रबार रातिबाट बादल लाग्ने र शनिबार बिहान वर्षा हुने संभावना छ,” मौसमविद् मानन्धरले भने। “पुसे झरीले जाडो अझै बढ्नेछ। आइतबारबाट भने क्रमिक रूपमा मौसममा सुधार आउने अपेक्षा गरिएको छ।”
महाशाखाका अनुसार हाल काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १६–१८ डिग्री सेल्सियसकाबीच रहनेछ। गत मंसिर २९ गते न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको थियो।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले न्यूनतम तापक्रम घट्ने भएकाले बिहान र राति बढी चिसो महसुस हुने मौसमविद्ले बताएका छन्। “न्यूनतम तापक्रम घटेपनि दिनको समयमा घाम लाग्दा अधिकतम तापक्रम केही वृद्धि हुने देखिन्छ,” मानन्धरले थपे।
मौसमविद्का अनुसार अङ्ग्रेजी जनवरी महिनालाई वर्षको सबैभन्दा चिसो महिना मानिन्छ। माघको दोस्रो र तेस्रो साताबाट दिन लामो हुँदै तापक्रममा क्रमिक वृद्धि हुने अपेक्षा गरिएको छ। पुसे झरी सुरु भएपछि जाडोले थप च्याप्ने अनुमान गरिएको छ। यस्तै, काठमाडौं लगायतका स्थानहरूमा बिहान सामान्य बदली र मध्यान्हतिर घाम लाग्दा दिउँसो न्यानो महसुस गर्न सकिने विभागले उल्लेख गरेको छ।
पुसे झरीका कारण चिसो अझै बढ्ने भएकाले जाडोबाट बच्न विशेष सतर्कता अपनाउन महाशाखाले सबैलाई सुझाव दिएको छ।