काठमाडौं | त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले शनिबार हुने ५०औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरूको सूची सार्वजनिक गरेको छ। यस समारोहमा १४ हजार ३ सय सात विद्यार्थी दीक्षित हुने छन्।
प्राप्त विवरणअनुसार, व्यवस्थापन संकायका एमफिल तहका हिरा श्रेष्ठले प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक प्राप्त गर्ने भएका छन्। उनले ३.९५ सीजीपीए हासिल गरेका छन्।
स्कुल अफ म्यानेजमेन्टतर्फ एमबीए अध्ययन गरेकी सुधा काफ्लेले ३.९४ सीजीपीएका साथ श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक प्राप्त गर्ने भएकी छिन्। एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले ३.९५ सीजीपीएका साथ अमृत पदक प्राप्त गर्नेछन्। त्यस्तै, एमएस्सी वातावरण विज्ञानमा रिकिता भण्डारीले ३.९४ सीजीपीएका साथ मदन विद्या वातावरण विज्ञान पुरस्कार पाउने भएकी छिन्।
एमए अंग्रेजी साहित्यमा ३.८८ सीजीपीए हासिल गरेकी सुदीक्षा घिमिरेले नरेन्द्रमणि आचार्य दीक्षित पदक प्राप्त गर्नेछिन्। उनले डा. मोहनप्रसाद लाखे स्वर्ण पदक पनि पाउनेछिन्। त्यस्तै, एमए पत्रकारिता तथा आमसञ्चारतर्फ चेतना कुँवरले ३.६८ सीजीपीएका साथ नारायण शान्ति मिश्र पदक प्राप्त गर्ने भएकी छिन्। अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले तीनवटा पदक– तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक, र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार प्राप्त गर्ने भएकी छिन्। उनले ३.६७ सीजीपीए हासिल गरेकी हुन्। बीबीए तर्फ आकृति झाले ३.९९ सीजीपीए हासिल गर्दै भाइस चान्सलर पदक र सत्य माँ स्मृति स्वर्ण पदक प्राप्त गर्ने भएकी छिन्।
सिभिल इन्जिनियरिङतर्फ शिवराज पन्त स्मृति पुरस्कार शाशिष थापाले पाउने भएका छन्। उनले ८४.२१ प्रतिशत अंक हासिल गरेका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयको ५०औँ संस्करण भएकाले यो स्वर्ण दीक्षान्त समारोहका रूपमा मनाइने छ।