मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य रहेको छ ।
जिल्ला भित्रका वा लामो दुरीका सवारी साधनहरु संचालन भएका छैनन् । सार्वजनिक बस तथा ढुवानीका साधनहरु चल्न सकेका छैनन् । छोटो दुरीका तीन पाङ्ग्रे सवारी साधनहरु भने सामान्य रुपमा संचालन भइरहेका छन् । भीमफेदी– कुलेखानी हुँदै काठमाडौँसम्म जाने सुमोहरु संचालन भइरहेका छन् ।
हेटौंडा, चौघडा, मनहरी, उत्तरी क्षेत्रका केही बजार क्षेत्रहरुमा व्यवसायिक पसलहरु खुलेका छन् भने शैक्षिक संस्थाहरु बन्द रहेका छन् । अधिकाँश निजी विद्यालयहरुले विहानै सूचना जारी गरेर आज बन्दका कारण विद्यालय संचालनमा नरहने जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हालसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जानकारी दिएको छ । कार्यालयका प्रवक्ताले बन्दकै कारण अप्रिय घटना नभएको र बन्दकर्ताहरु कोही पनि पक्राउ नपरेको जानकारी दिएका छन् । शान्ति सुरक्षाका लागि बाक्लो संख्यामा बजार क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताएका हुन् ।