देशबागमती प्रदेशझोलुङ्गे पुलको जिल्ला बागलुङमा थपिए १० झोलुङ्गे पुल

झोलुङ्गे पुलको जिल्ला बागलुङमा थपिए १० झोलुङ्गे पुल

बागलुङ-बागलुङमा १० वटा झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा जिल्लाभर १० झोलुङ्गे पुल निर्माण भएको हो ।

बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा पाँच वटा पुल निर्माण भएका छन् । गत वर्ष निर्माण सम्पन्न गर्न जिल्लाभर ३३ वटा झोलुङ्गे पुलको सर्वेक्षण गरिएको थियो । बिवैसीका झोलुङ्गे पुल कार्यक्रमका संयोजक प्रेम केसीले सर्वेक्षण गरिएकामध्ये १० वटा झोलुङ्गे पुल मात्रै सम्पन्न भएको जानकारी दिए ।

ढोरपाटन–२ सिमलचौर, ढोरपाटन–७ को पाण्डेरी र ढोरपाटन–९ को रसिवाङ, बरेङ–२ को कौला, बरेङ–१ को दोभानखोला, ताराखोला–२ को दोभान, ताराखोला–३ को निस्दीखोला, ताराखोला–३ को सादी, ताराखोला–४ दोगडी खोला र ताराखोला–५ मोमघाट खोलामा पुल निर्माण भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको झोलुङ्गे पुल क्षेत्रीय कार्यक्रमले स्थानीय तहले पुलको योजना छनोट गरी कार्यान्वयन गरेको हो । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार बाग्लुङमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज सपोर्ट युनिट (टिभिएसयू) र पीटीएपी पोखराले प्राविधिक सहयोग गरिरहेको केसीले जानकारी दिए ।

टिभिएसयूले स्थानीय तहसँग समन्वय गरी पुलका काठ र फलामका सामग्रीको व्यवस्थापन र वितरणमा काम गर्छ । कार्यक्रम संयोजक केसीका अनुसार १२० मिटरसम्मको पुल उपभोक्ता समितिमार्फत र त्योभन्दा लामो पुल व्यवसायीमार्फत बनाइनेछ । झोलुङ्गे पुल बनेको बागलुङमा थप पुल बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माणका लागि संघीय सरकारले सशर्त बजेट उपलब्ध गराउँदै आएको छ । झोलुङ्गे पुल निर्माणमा कुल बजेटमध्ये पुल क्षेत्र कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको लगानी १३ प्रतिशत र सार्वजनिक योगदानको २ प्रतिशत खर्च भइरहेको केसीले जानकारी दिए ।

पुल रणनीति २०६२ अनुसार जिल्लामा निर्माण कार्य जारी रहेको तथ्यांकअनुसार जिल्लामा २०७६ भदौसम्म ४५३ पुल निर्माण भएका छन् भने दुई वर्षमा निर्माणाधीन ३३ पुलमध्ये १० वटा निर्माण सम्पन्न भएका छन् । कार्यक्रम संयोजक केसीले चालु आर्थिक वर्षमा २५ वटा पुल निर्माण गरिने बताए । गत वर्ष सबै पुलको सर्वेक्षण गरिएको थियो ।

चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई, काठेखोलामा तीन, ताराखोलामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच पुल निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img