मकवानपुर: आत्महत्या र आत्महत्या दुरुत्साहनलाई कानुनी रुपमा एक जघन्य अपराध मानिन्छ तर बागमती प्रदेशका १० जिल्लामा पछिल्लो १८ महिनामा १ हजार ३ सय ४२ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको छ । बागमती प्रदेशमा २०७९ असार देखी २०८० मङ्सिरसम्मको प्रदेशका १० जिल्लामा आत्महत्या गर्नेको संख्या १ हजार ३ सय ४२ रहेको प्रदेश प्रहरीको तथ्यांकमा छ ।
धार्मिक दृष्टिमा आत्महत्या गर्ने मानिस सिधै नर्कमा पुग्छन् भन्ने विश्वाश गरिएतापनि मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति अर्थात् मनोरोग रोग भन्ने गरिन्छ ।
बागमती प्रदेशमा चालु आर्थिक बर्षमा पनि आत्महत्या गर्नेको संख्या बढदो रहेको छ । प्रदेशमा मानिसहरु बिष खाएर, आगो लगाएर, झुण्डिएर, हाम फालेर, करेण्ट लगाएर, औजार हातहतियारबाट र पानीमा हााम फालेर ४ सय दुईजनाले आत्महत्या गरेका तथ्यांकमा उल्लेख छ ।
एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन् भने कोरोनाको समयमा नेपालमा एक दिनमा कम्तीमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको थियो । नेपालमा आत्महत्याका प्रमुख कारणहरुमध्ये विभिन्न उपचार गर्दा पनि निको हुन नसकेका जीर्ण रोगले सताएका बिरामी, आफन्तको मृत्यु, बढ्दो एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, प्रेममा धोका, लागुऔषध, परीक्षामा असफलता, जीवनमा निराशा, क्षणिक आवेग, दाइजो प्रथा तथा महिला हिंसा रहेका छन्।
प्रदेशको १० जिल्लामा सबैभन्दा धेरै चितवन र सबैभन्दा न्यून रसुवामा आत्महत्या दर रहेको तथ्यांकले उल्लेख गरेको छ । मकवानपुरमा भने पछिल्लो १८ महिनामा २ सय ९ जना मध्ये १ सय ४१ झुण्डिएर र ६८ जनाले बिष खाएर आत्महत्या गरेका छन्।
आत्महत्यालाई मानसिक रोग भन्दा पनि पनि ‘कमजोर मन भएकाहरूले चाल्ने कदम’ भएको दृष्टिकोण समाजमा व्याप्त हुनु नेपालको सन्दर्भमा ठूलो समस्या रहेको सरोकारवालाहरु बताउछन । ‘समाजमा आत्महत्यालाई कायरताको रुपमा लिने गरेको पाइन्छ तर आत्महत्या भनेको एउटा मनोरोग हो, यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर जनचेतना फैलाउनु जरुरी देखिएको छ।’
फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिम जसलाई सोसिओलोजीका पिता पनि भनिन्छ। उनका अनुसार आत्महत्याका चार वटा आधार छन्। जसमा आवेगमा आएर गरिने आत्महत्या, डिप्रेसनका कारण गरिने आत्महत्या, देश र जनताका लागि गरिने आत्महत्या, लामो समयसम्म विभिन्न कारणले गरिने आत्महत्या। उनले आत्महत्यालाई सामाजिक परिघटना भनेका छन् । उनले कुनै पनि आत्महत्याका पछाडि सामाजिक कारण रहने कुरा उल्लेख गरेका छन् । दुर्खिमका अनुसार आत्महत्या सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक कारणले हुने गर्दछ ।
सरकारी अधिकारीहरू भने राष्ट्रिय योजना बनाएर नै आत्महत्या नियन्त्रणको प्रयासमा आफूहरू लागिरहेको तर श्रोत र साधन अनि मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ चिकित्सक सहितको अभावले आफ्नो प्रयासमा अप्ठेरो निम्त्याइरहेको बताउँछन्।
यदि तपाईँ मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्।चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६शिक्षण अस्पताल काठमाण्डूको हेल्प लाइन नम्बर १६६००१२१६००