मकवानपुर । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका-११ नवलपुरस्थित चन्द्रशुर्य पेट्रोल पम्प नजिकैको पूर्व-पश्चिम राजमार्गमा गत १७ गते राति अं. २०:४० बजेको समयमा एक सवारी दुर्घटना भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पैदलयात्री ज्ञानेन्द्र सुनार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी हेटौडा उपमहानगरपालिका-११ शान्तिचोकका बासिन्दा रहेका छन्।
प्रहरीका अनुसार प्रदेश १-०२-०१ ज ४३०० नम्बरको टाटा सुमो गाडीले सुनारलाई ठक्कर दिएको थियो। गम्भीर घाइते सुनारलाई हेटौडा अस्पतालमा लगिए पनि उपचारको क्रममा राति ११:२६ बजे मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टाटा सुमो गाडी चालक जिल्ला मोरङको ग्रामथान नगरपालिका-७ का चेतनाथ सापकोटालाई इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट नियन्त्रणमा लिइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।