Saturday, December 7, 2024
देशबागमती प्रदेशमुख्यमन्त्री जम्कट्टेलले १८ महिने कार्यकालमा केके गरे?

मुख्यमन्त्री जम्कट्टेलले १८ महिने कार्यकालमा केके गरे?

हेटौँडा |नेपालको संविधानले परिकल्पना गरेको तीन तहको शासकीय संरचनाको प्रादेशिक अभ्यास अब करिब सात वर्ष पुरानो भइसकेको छ। यस अवधिमा बागमती प्रदेश सभाको पहिलो कार्यकाल पाँच वर्ष पूरा भई दोस्रो कार्यकालको एक वर्ष छ महिना बितिसकेको छ।

मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा गठित वर्तमान सरकारले यस अवधिमा आजसँगै चार पटक विश्वासको मत लिदैछ । पहिलो पटक २०७९ माघ ३ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाली पार्टीको समर्थनमा विश्वासको मत लिइएको थियो। त्यसपछि राजनीतिक समीकरण परिवर्तन भई २०७९ चैत १० गते दोस्रो पटक र २०८० चैत १९ गते तेस्रो पटक विश्वासको मत लिनुपरेको थियो।

हालै केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसंगे बागमती प्रदेश सरकार संकटमा परेको छ। असार २४ मा नेकपा एमालेले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ र पाँच जना मन्त्रीहरूको सामूहिक राजीनामा दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले आज(आईतबार) एक बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ । नयाँ राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बागमती प्रदेशमा नयाँ सरकार गठन गर्ने तयारीमा छन्। यी दुवै दलले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । जुन संसदीय अंकगणितीय हिसावले उनले विश्वासको मत नपाउने निश्चित भएको छ । विश्वासको मत नपाएसंगै उनको कार्याकाल सकिने छ ।

जादाँजादै, मुख्यमन्त्री जम्कट्टेलले आफ्नो १८ महिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। यस अवधिमा प्रदेश सरकारले उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्दै मुख्यमन्त्री जम्कट्टेलले विभिन्न क्षेत्रमा भएका विकास र सुधारका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरेका छन्।

आर्थिक क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा हालसम्मकै सबैभन्दा बढी ७२.८३ प्रतिशत बजेट खर्च भएको छ। यसमा पूँजीगत खर्चमा उल्लेखनीय वृद्धि भई ७९.४७ प्रतिशत पुगेको छ। यो उपलब्धिले सार्वजनिक खर्च व्यवस्थापन र वित्तीय सुशासन कायम गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको मुख्यमन्त्रीको दाबी छ।

पूर्वाधार विकासमा प्रदेश सरकारले ठूलो फड्को मारेको छ। १८ महिनाको अवधिमा ५ सय ९६ किलोमिटर पक्की सडक र २ सय ६७.२ किलोमिटर ग्राभेल सडक निर्माण तथा स्तरोन्नति गरिएको छ। यसका साथै ६१ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। खानेपानी क्षेत्रमा २ सय ५ वटा ठूला आयोजना पूरा भएका छन् भने सिंचाई तर्फ १५ सय २१ आयोजना सम्पन्न गरी ४१ सय ४८ हेक्टर क्षेत्रमा थप सिंचाई सुविधा विस्तार गरिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मुख्यमन्त्रीको दाबी छ। बागमती विश्वविद्यालयको स्थापना गरिएको छ भने प्रदेश अस्पतालहरूमा निःशुल्क सेवा विस्तार गरिएको छ। प्रदेश अस्पतालका क्याबिन र आईसीयू बाहेक सबै बेड निःशुल्क गरिएको छ।

सामाजिक समावेशीकरणतर्फ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। चेपाङ, चिउरी तथा चमेरो संरक्षण कार्यक्रम, दलित समुदाय समग्र विकास कार्यक्रम, र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बन्धी नीति कार्यान्वयन गरिएको छ। यसका साथै नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरिएको छ।

प्रशासनिक सुधारतर्फ पनि महत्त्वपूर्ण कदम चालिएको छ। यस अवधिमा ११ हजार १३ कर्मचारीको सरुवा र ४ सय ४९ कर्मचारीको बढुवा गरिएको छ। साथै ४० पटक मन्त्रिपरिषद् बैठक सम्पन्न गरी २ सय ११ वटा महत्त्वपूर्ण निर्णय गरिएको छ।

कानुनी रूपमा पनि प्रदेश सरकारले उल्लेखनीय काम गरेको छ। ७ वटा ऐन, १ अध्यादेश, ७ नियमावली, ४ निर्देशिका, र २० कार्यविधि जारी गरिएको छ।

मुख्यमन्त्री जम्कट्टेलले यी उपलब्धिहरूलाई प्रदेशको समग्र विकासको कोसेढुङ्गाको रूपमा वर्णन गरेका छन्। साथै यस अवधिमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img