हेटौंडा | वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले १४ महिनाको उपलब्धि सार्वजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्य र चालु आर्थिक वर्षका लागि बजेटमार्फत् सम्बोधन गरिएका कार्यक्रमबारेमा उनले जानकारी गराएका हुन् ।
मन्त्रालय सम्हालेको २०८० जेठ ७ गतेदेखि २०८१ साउन ६ सम्मको अवधिमा सम्पन्न कार्यलाई विवरणमा समेटिएको छ । प्रदेश सरकारको कार्य क्षेत्रभित्र पर्ने यातायात व्यवस्थापनसम्बन्धि संवैधानिक अधिकारलाई हस्तक्षप गर्नै संघीय सरकारले निर्माण गरेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन, २०७९ खारेजी माग गर्दै कानुनी उपचार प्रक्रिया अगाडि बढाउनुलाई प्रमुख उपलब्धिमा समेटिएको छ । उक्त ऐनविरुद्ध दायर मुद्धा संवैधानिक इजलासमा विचाराधीन छ ।
यातायात क्षेत्रलाई स्वचालित प्रविधिमा आधारित बनाउन निजी सवारीसाधनको कर भुक्तानी र बिलबुक नवीकरण र सार्वजनिक यातायातको पटके इजाजत अनलाइन पद्धतिबाट सुरु गरिएको मन्त्री लम्सालले बताए । यस अवधिमा मन्त्रालयले काभ्रेपलाञ्चोकमा यातायात व्यवस्था कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको छ ।
काठमाडौंको गुर्जुधारामा यातायात व्यवस्था कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाइएको मन्त्री लम्सालले जानकारी दिए । प्रदेश सरकारले सवारीचालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण शुल्कमा एकरुपता कायम गर्न शुल्क निर्धारण गरी कार्यान्वयन गर्ने सुनिश्चितता गरेको छ ।
छिटो, सहज र प्रभावकारी सेवाप्रवाहका लागि मन्त्रालयले प्रिन्टिङ मेसिन र स्मार्टकार्ड खरिद प्रक्रिया अगाडि बढाएको उनले बताए । मन्त्रालयअन्तर्गत् कार्यालयमा रेहका सवारी अभिलेखलाई डिजिटिलाइजेसन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । मन्त्री लम्सालले चालु आर्थिक वर्षबाट सार्वजनिक सवारीमा क्यासलेस प्रणाली लागु गर्न बजेट सुनिश्चित भएको उल्लेख गरे ।