बागमती | बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम पाँचपोखरी गाउँपालिकामा आइतबार सम्पन्न भएको छ। बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले उद्घाटन गरे।
सभामुख पाठकले कानुनको सही कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको र यसमा सबैको सहकार्य आवश्यक रहेको बताए। उनले स्थानीय तहलाई कानुनको प्रभावकारी कार्यान्वयनका लागि सक्षम बनाउनुपर्ने आवश्यकता व्यक्त गरे।
उपसभामुख अपसरा चापागाईले बागमती प्रदेशका कानुनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताइन्। छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुसार संसोधन गर्ने धारणा राखे।
संविधान सभा सदस्य र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए।
कार्यक्रममा बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्काले प्रदेशमा निर्माण भएका कानुन र कार्यान्वयनको अवस्था बारे जानकारी दिए।
यस कार्यक्रमले कानुन निर्माण र कार्यान्वयन प्रक्रियामा सुधार ल्याउने विषयमा गम्भीर छलफल र सुझावहरूको आदानप्रदान गराएको छ।