हेटौँडा। दक्षिण एसियाकै पहिलो मानिने हेटौँडा–१५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरेका छन्। हेटौँडा उपमहानगरपालिका अनुसार सुरुङमार्गबाट हालसम्म एक लाख १७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालका अनुसार अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेका छन्। विशेषगरी शुक्रबार, शनिबार र सार्वजनिक बिदामा भीड बढ्ने गरेको उनले बताए।
प्रदेश सरकारको रु ५ करोड ५७ लाख लागतमा पुनःनिर्माण गरिएको सुरुङमार्ग २०८१ पुस ८ गते उद्घाटन गरी पर्यटकका लागि खुला गरिएको हो। चालु आर्थिक वर्षको साउन महिनामात्रै ४५५ पर्यटकले अवलोकन गरेका छन् र त्यसबापत रु २० हजार ५५० राजस्व संकलन भएको राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले जानकारी दिए।
सुरुङमार्ग अवलोकन शुल्क नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई रु १०० र विद्यार्थीलाई रु २० तोकिएको छ।
मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने यो सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको थियो। यहाँबाट विसं २०२० सम्म सवारीसाधन आवागमन भएको थियो भने २०७९ वैशाख १९ गतेदेखि जीर्णोद्धार सुरु भएको हो।



