काभ्रे। काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुबाहक बस खरिबोटस्थित खोला तर्ने क्रममा फसेको छ।
अप्ठ्यारो भित्री सडकखण्डमा पर्ने खरिबोट खोला तर्ने क्रममा बस बीच भागमै अड्किएपछि यात्रुहरू जोखिममा परेका थिए।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुमन बुढाथोकीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीको उद्धार टोलीले बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ।




