धर्म/संस्कृतिमकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य

मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य

मकवानपुर: जाडोमा पदयात्राको उत्कृष्ट गन्तव्य बन्दै गएको छ मकवानपुरको लटारम्मेश्वर महादेव मन्दिर । थारै खर्चमा भरपुर आनन्द लिन सकिने उतकृष्ट गन्तव्य बनेको छ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-८ स्थित लटारम्मेश्वर ।

समुद्री सतहबाट एकहजार ८ सय ५६ मिटरको उचाइमा रहेको यो मन्दिरबाट देखिने मनोरम दृश्य  पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । संघीय राजधानी काठमाण्डौं र बागमती प्रदेशको राजधानी हेटौंडाबाट छोटो दूरीमा नै पुग्न सकिन्छ लटारम्मेश्र । काठमाण्डौंको धुलो, धुँवा र कोलाहालबाट मुक्त भएर शान्त ठाउँमा घुम्ने सोच बनाउनेहरुको लागि यो ठाउँ आकर्षणको केन्द्रबिन्दु बन्दै गएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको ठाडो उकालो पैदल हिडेपछ पुगिने डब्लु डाँडाको थुम्कोमा महादेबको मन्दिर छ । थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्यहरुले पर्यटकलाई हिडाईको थकान मेटाउँछ ।

हेटौंडा र काठामाण्डौंबाट उत्तिनै दुरीमा पर्ने यस लटारम्मेश्वरमा दिनहुँ सयौं मानिसहरु भगवानको दर्शन गर्न, घुम्न तथा ट्रेकिङ गर्न समेत आउने गरेको स्थानीय बताउँछन् । मन्दिरमा पछिल्लो समय लटारम्मेश्वर महादेवको भाकल पूजा गर्न आउनेहरुको समेत उत्तिकै घुइँचो लाग्ने गरेको छ । काठमाण्डौं उपत्यकाबाट नजिकको दूरीमा रहेको कारण पनि काठमाण्डौं सहित ललितपुर, भक्तपुर लगाएतका बासिन्दाहरुको पनि उत्तिकै उपस्थिती देखिन्छ ।

डब्लु डाँडा भनेर समेत परिचित रहेको यस ठाउँको शिखरमा पुगेर रमणीय दृश्य अवलोकन गर्दा स्वर्गको एक अंश भनेर व्याख्या गर्न मन पराउँछन् आन्तरिक पर्यटकहरु । मन्दीर रहेको टुप्पोमा पुग्ने जंगलको शितल बाटोको पैदल यात्रा हिडेर रमणीय प्रकृतीको आनन्द लिदैं मन्दीरमा पुग्दा बाटोको थकान सबै मेटिने अनुभव पर्यटकहरुको छ । झन् अहिले जाडो मौसममा ज्यान तताउँदै उकालो लाग्नुको मज्जा झनै बेग्लै ।

यता, सामाजिक सञ्जालमार्फत लटारम्मेश्वर भाइरल भएपछि स्थानीय सरकारले यस ठाउँलाई पर्यटकीय हव बनाउनका लागि उत्तिकै चासो देखाएको छ । लटारम्मेश्वरलाई बागमती प्रदेशकै महत्वपूणर् पर्यटकीय हबको रुपमा विकास गर्नको लागि भीमफेदी गाउँपालिकाले चासो देखाएको हो । यस ठाउँको विकासको लागि डिपिआर निर्माण गरेर काम अघि बढाउन लागेको भीमफेदी गाउँपालिकाले जनाएको छ ।

ठुलो भीरमा मुस्किलले ज्यान जोगाउँदै हिड्नुपर्ने समस्या अहिले छैन । सिमेन्टका सिंढी र छेउछेउमा सुरक्षाको लागि फलामको रेलिङ निर्माण गरिएको छ । उकालो हिड्दा पानीको प्यास सजिलै मेट्न पाइयोस् भनेर खानेपानीको समेत व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

प्राकृतिक सुन्दरताले भरिएको यो मन्दिरको विकासका लागि भीमफेदी गाँपालिकाले गुरुयोजना बनाएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको सहयोगमा गाउँपलिकाले यो वर्ष २० लाख रुपैयाा लगानी गरी भौतिक पूर्वाधारको काम गरिरहेको छ । चिसो मौसम, काठमाण्डौँ उपत्यका तथा मकवानपुर सहित अन्य जिल्लाको दृष्य अबलोकन गर्न सकिने, धार्मीक स्थल समेत रहेको लटारम्मेश्वर महादेब मन्दिर परिसरलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने अभियानमा लागेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा बताउँछन् ।

काठमाण्डौं र हेटौंडा दुवैतर्फबाट कान्तिलोकपथ मार्ग हुँदै ४३ किलोमिटरको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन भन्ने स्थान पुगिन्छ। त्यहाँबाट आर्मी क्याम्प हुँदै ८ किलोमिटरको यात्रापछि महादेबटार पुगिन्छ। महादेबटारसम्म साना गाडि तथा मोटरसाइकल लान सकिन्छ। त्यसपछि ४ किलोमिटरमा चिलाउने लेक भन्ने स्थानमा पुगिन्छ। उक्त स्थानबाट करिब २ घण्टाको पैदल यात्रा पश्चात लटारम्मेश्वर महादेवको मन्दीर पुगिन्छ ।

हिन्दु धर्मको पौराणिक कथा अनुसार महादेवको पत्नी सतिदेबीले देहत्याग गरेपछि महादेवले उनको शरिर लिएर हिडने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानको रुपमा उक्त क्षेत्रलाई लिईन्छ । सतिदेबीको जटा झरेर पतन भएको पौराणीक कथा अनुसार उक्त स्थानको नाम लटारम्मेश्वर महादेब भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार