Monday, April 21, 2025
बागमती प्रदेशमकवानपुरडकर्मी र खेलकर्मी महिला सम्मानित

डकर्मी र खेलकर्मी महिला सम्मानित

हेटौँडा | हेटौँडामा रहेको सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा दुई जना महिलालाई जागरुक महिला सम्मानबाट सम्मानित गरेको छ। सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छन्।

ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आबद्ध रहेकी छिन् र मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन्। सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा रहेकी छिन् र आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित छिन्।

रेडियोले दुवै महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन्।

मन्त्री काफ्लेले रेडियोले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्नु सकारात्मक पक्ष भएको बताए। उनले सञ्चार जगतका यस्ता काममा प्रदेश सरकारको साथ रहने उल्लेख गरे।

रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीका अनुसार, विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको छ।

कार्यक्रममा विभिन्न गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो र संस्कृतिको जगेर्ना गर्दै तीजलाई सभ्य र भव्य तवरले मनाउनुपर्ने धारणा राखिएको थियो। साथै, कार्यक्रममा दोहोरी प्रस्तुति र नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो।

Advertisement

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस