हेटौँडा | हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दूरीको देउराली–फाखेल–मातातीर्थ सडक करिब डेढ महिना बन्द हुने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना जारी गर्दै फागुन ४ गतेदेखि चैत २१ गतेसम्म निर्माण र स्तरोन्नति कार्यका लागि सडक बन्द रहने जानकारी गराएको छ।
उक्त सडक खण्ड हेटौँडा, मकवानपुरगढी, इन्द्रसरोवर, ललितपुर हुँदै काठमाडौँ आवत-जावत गर्ने प्रमुख मार्ग मध्ये एक हो। सडक बन्द भएपछि नियमित यात्रु, स्थानीय व्यवसायी, कृषक तथा पर्यटन व्यवसायमा असर पर्ने देखिएको छ।
गाउँपालिकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यो अवधिमा हेटौँडा–नागढुंगा–काठमाडौँ मुख्य मार्ग प्रयोग गर्नुपर्नेछ, जसले यात्रा समय कम्तीमा २ घण्टा थपिने अनुमान गरिएको छ।
स्थानीय सरकारका अनुसार निर्माण सम्पन्न भएपछि सडक सुरक्षित, दिगो र प्रभावकारी हुने विश्वास गरिएको छ।